मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २९ बिहीबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी परिचालन

Read Time : < 1 मिनेट
२०७९ बैशाख २९ बिहीबार १२:३२:००

स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन्। कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार चार सय आठजनालाई खटाइएको हो। एक हजार चार सय ३५ कर्मचारी, एक हजार तीन सय २५ म्यादी प्रहरी, आठ सय १८ नेपाल प्रहरी, तिन सय ५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी चार सय ८० नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।

उनका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्यक्षेत्रमा पुगिसकेका छन्। नेपाली सेनाको टोली हरेक मतदानस्थलबाट २०–२५ मिनेटको दूरीमा रहने र असहज अवस्था भएमा उक्त समयभित्र मतदानस्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको उनले बताए। म्यादी प्रहरी र नेपाल प्रहरी भने मतदानस्थलमै खटाइएको छ। जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गीकरण गरेको छ। सोही वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार जिल्लामा एक सय ३२ निर्वाचनस्थलमध्ये अतिसंवेदनशील ५०, संवेदनशील ५३ र सामान्य २९ रहेका छन्। भौगोलिक विकटता, विगतका निर्वाचनमा भएको घटनाको मूल्यांकन, जातीयता, सांस्कृतिक तथा साम्प्रदायिता, आपराधिक व्यक्तिको प्रयोग हुन सक्नेजस्ता आधारमा वर्गीकरण गरिएको उनले बताए।

१२ स्थानीय तहको ८८ वडामा रहेको सबै मतदानस्थलमा बुधबारसम्म कर्मचारी पुगेर मतदानस्थल निर्माण तथा व्यवस्थापन गर्न सुरु गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार टाढाका मतदानस्थलका कर्मचारी मंगलबार नै पुगेको र सदरमुकाम र नजिकका मतदानस्थलका कर्मचारी बुधबार बिहान कार्यस्थलमा पुगेका छन्। नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि दुई हजार दुई उम्मेदवार चुनावी मैदानमा छन्। रासस