१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०७:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार लगातार उक्लँदै कारोबार रकममा पनि सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०७:४६:००

सेयर बजार निरन्तर उकालो लागेको छ । लगातार चार दिन बजार उकालो लागेको हो । बुधबार ५६ दशमलव शून्य ६ अंकले बढेर दुई हजार तीन सय ६९ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । बजार बढेसँगै लगानीकर्ताहरू बजार प्रवेश गर्न थालेका छन् । 

विगतको तुलनामा न्यून मूल्यमा सेयर रहेकाले बाहिरिएका लगानीकर्ता पुनः बजार प्रवेश गरी सेयर खरिद गर्न थालेका हुन् । प्यानिक बनेका लगानीकर्ताहरूले नाफा सञ्चितसमेत गर्न थाल्दा कारोबार रकम बढ्न टेवा पुगेको हो । खरिद–बिक्री चापले बजारमा दिनभर उत्तारचढाव देखिए पनि बजार बन्द हुने वेलासम्ममा उच्च अंकले बढेको हो । 

यस दिन बजार दुई हजार तीन सय १३ दशमलव २८ बिन्दुको न्यूनतम बिन्दुबाट दुई हजार तीन सय ६९ दशमलव १७ बिन्दुसम्म पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ५३ लाख ३३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । 

अरुण भ्याली हाइड्रोपावर 
डेभलपमेन्ट, ङादी ग्रुप पावर, राधि विद्युत् कम्पनी, शिवम् सिमेन्टको सेयर ६ करोड रुपैयाँदेखि १० करोड ५९ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । जलविद्युत् समूहको सूचकमा लगानीकर्ताको आकर्षण बढेको छ । विभिन्न जलविद्युत् कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्ने बजार हल्लाका बीच जलविद्युत् समूहमा करिव पाँच प्रतिशतले बढेको छ । त्यसैगरी, फाइनान्स समूहको सूचक चार दशमलव ३४ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूहको सूचक र लगानीगत समूहको सूचक तीन प्रतिशतले बढेका छन् ।

नेसनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, राधि विद्युत् कम्पनी र युनिभर्सल पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, लक्ष्मी उन्नति कोषको सेयर मूल्य एक प्रतिशतभन्दा बढीले घटेका छन् ।