मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मकवानपुरको बागमती गाउँपालिकास्थित महाबुद्ध आधारभूत विद्यालय झुरझुरेमा मतदान केन्द्र निर्माण गर्दै निर्वाचनमा खटिएका कर्मचारी । तस्बिर : सुदीप सिवाकोटी/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ बैशाख २९ बिहीबार ०७:४२:००
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

धमाधम बनाइँदै मतदान केन्द्र

Read Time : > 2 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ बैशाख २९ बिहीबार ०७:४२:००

झापा : बिहीबारसम्म केन्द्र बनाइसकिने
झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका दुई सय ८६ मतदानस्थलमा सात सय ५५ मतदान केन्द्र निर्माणको काम प्रारम्भ भएको छ । निर्वाचन प्रमुख नेपालका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ । कतिपय केन्द्र निर्माणको काम मंगलबारबाट र कतिपय बुधबारबाट सुरु भएको हो । 

‘सबै मतदान केन्द्रमा सामग्री पुगेको छ । अधिकांश मतदान केन्द्र निर्माण प्रारम्भ भएको छ,’ उनले भने, ‘बिहीबार दिउँसो ३ बजेभित्र सबै मतदान केन्द्र निर्माणको काम सम्पन्न हुन्छ,’ सबै मतदान केन्द्रमा महिला, पुरुष र अपांगता भएका र वृद्धवृद्धाका लागि छुट्टाछुट्टै लाइन निर्माण गरिने उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार झापामा ५१ वटा मतदानस्थल अतिसंवेदनशील छन् । १५३ मतदानस्थल संवेदनशील र ८२ मतदानस्थल सामान्य प्रकृतिका छन् ।

रसुवा : मतदान केन्द्रमा त्रिपालको व्यवस्था
मौसम विभागले मतदानको दिन पानी पर्ने पूर्वानुमान गरेकाले रसुवाका मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ । प्रजिअको समन्वयमा जिल्लाका स्थानीय तहहरूले त्रिपालको व्यवस्थापन गरेका छन् । एउटा मतदान केन्द्रमा एउटादेखि दुईवटासम्म त्रिपालको व्यवस्थापन गरिएको प्रजिअ नवराज जैसीले जानकारी दिए ।  
रसुवाका ३४ मतदानस्थल र ५१ मतदान केन्द्र निर्माणको काम पनि चलिरहेको छ । निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार केही मतदानस्थल र मतदान केन्द्र निर्माण भइसकेका छन् । केहीको निर्माण धमाधम चलिरहेको छ । रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहका मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । नौकुण्ड गाउँपालिकाको पारच्याङ, कालिका गाउँपालिकाको कालिकास्थान, गोसाइकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ ।

पूर्वी नवलपरासी : मतगणनास्थलको पनि तयारी
मतदानस्थल र मतदान केन्द्र निर्माणको कामसँगै पूर्वी नवलपरासीमा मतगणनास्थलको तयारी पनि अघि बढेको छ । जिल्लाका आठवटै पालिकाका मतगणनास्थलको निर्माण चलिरहेको छ । यससँगै तारजाली र सिसी टिभी क्यामेरासहित मतगणनास्थलको निर्माण पनि अघि बढेको छ । सोमबार र मंगलबार दुई दिनमा मतगणनास्थलकामा तारजाली लगाइएको पूर्वी नवलपरासीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । आठवटै पालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयका ठूला कोठामा तारजाली लगाइएका छन् । मतगणनास्थलको सुरक्षाका लागि कर्मचारी, उम्मेदवारका प्रतिनिधि र पत्रकारबाहेक अरूलाई प्रवेश निषेध गर्न तारजाली लगाइएको हो । मतगणनास्थलमा सिसीक्यामेरा पनि जडान गरिएको छ । 

लमजुङ​​​​​​​ : मतगणनास्थलमा सिसीक्यामेरा
लमजुङमा निर्वाचनस्थल निर्माणदेखि मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडानको काम भइरहेको छ । यहाँका आठवटै स्थानीय तहको मतगणनास्थलमा सिसीक्यामेरा जडान गरिएका छन् । निर्वाचन आयोगले प्रत्यक्ष निगरानी गर्न सक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । ‘बेँसीसहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी क्व्होलासोथर, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकाका मतगणनास्थलमा क्यामेरा जडान भइसकेको छ,’ मुख्य निर्वाचन अधिकृत खनालले नयाँ पत्रिकासँग भने । मतगणनालाई सुरक्षित बनाउन सिसीक्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएका ठाउँमा बाँसको बार भए पनि राख्ने तयारी छ । मतगणनाका वेला कुनै अप्रिय घटना नहोस् भनेर मजबुत सुरक्षा निगरानीमा मतगणना गरिने खनालले बताए । 

कञ्चनपुर : मतदानको तयारी अन्तिम चरणमा
स्थानीय तहमा मतदानको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले हरेक मतदान केन्द्रमा पाँच निजामती कर्मचारी खटाइएको जानकारी दिए । जिल्लाभरि एक हजार सात सय पाँच कर्मचारी खटिसकेका छन् । यहाँ एक सय ३२ निर्वाचनस्थलमा तीन सय ४१ मतदान केन्द्र छन् । उनले मतदान केन्द्र निर्माण सकिएपछि त्यहीँ नमुना मतदानसमेत गराइने जानकारी दिए । कञ्चनपुरमा महिला एक लाख ५२ हजार एक सय १२ र एक लाख ४३ हजार दुई सय ४१ महिलासहित दुई लाख ९५ हजार तीन सय ५४ मतदाता छन् । 

झापामा चिरञ्जीवी घिमिरे, रसुवामा अनु आचार्य, नवलपरासीमा रामकुमार श्रेष्ठ, लमजुङमा शान्ता कमली, कञ्चनपुरमा मोहन विष्ट, रुकुम पश्चिममा मनीष खड्का