मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २७ मंगलबार ०७:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोलभाडा नतिर्ने सेवाप्रदायकको विद्युत् काटिँदै 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २७ मंगलबार ०७:४८:००

रसुवामा पोलभाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोलभाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको लाइन काट्ने भएको हो । पोलभाडा नतिर्ने सेवाप्रदायकको जेठ १ गतेबाट विद्युत् लाइन काट्ने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । उनका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवाप्रदायकले सात वर्षदेखि पोलभाडा नतिरेकाले लाइन काट्न लागिएको हो ।

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकले ०७२ सालदेखि शुल्क नतिरेको बताइएको छ । नेपाल टेलिकमबाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेको अधिकारीले बताए । ‘सेवाप्रदायकलाई सम्झौता गर्नका लागि पटक–पटक पत्राचार गरिएको छ । तर, उनीहरू हालसम्म सम्झौता गर्न आएका छैनन्,’ उनले भने ।  

पोलभाडा सम्झौता गर्न अटेर गर्ने सेवाप्रदायक संस्थाहरूको हकमा आसन्न स्थानीय तहको मतदान केन्द्र तथा मतगणना स्थलहरूमा इन्टेरनेट सेवा प्रभावित नहुने यकिन गरी आउँदो जेठ १ गतेदेखि सम्बन्धित स्थानको स्थानीय कार्यालयको विद्युत् लाइन काट्ने, नयाँ सेवा विस्तार गरेको पाइएमा सामग्री तथा उपकरणहरू नियन्त्रणमा लिने निर्णय भएको उनले वताए । शुल्क नबुझाउने सबै सेवाप्रदायकको लाइन काट्नका लागि केन्द्रले परिपत्र गरिरहेको र यसको प्रक्रिया अघि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लामा सातवटा सेवाप्रदायक रहेका छन् । सुबिसु, मर्कन्टाइल, वल्र्डलिंक, एनआइटिभी स्ट्रिम्ज, लाङटाङ केबल नेटवर्क, एभरेस्ट लिंक र बेत्रावती केबलले पोलभाडा नबुझाएको बताइएको छ ।