Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २६ सोमबार ०८:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा दोहोरो अंकको ‘कमब्याक’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २६ सोमबार ०८:५८:००

आइतबार सेयर बजारमा दोहोरो अंकको ‘कमब्याक’ भएको छ । नेप्से परिसूचक १७ दशमलव ९५ अंकले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ बिन्दुमा पुगेको छ । नेप्से सूचक दुई हजार दुई सय पाँचसम्मको न्यूनतम बिन्दुसम्म छोएर फर्किएको हो । निकै घटेपछि बजारमा फर्कने योजना बनाएका लगानीकर्ता सक्रिय भएपछि त्यसको प्रभाव बजारमा परेको छ । लगानीकर्ताले परिपक्व पुँजी बजारको आवश्यकता भइसकेको बताइरहेका छन् । चुनावी माहोलले पनि बजारलाई सकारात्मक प्रभाव पारेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । बजार न्यून बिन्दुसम्म पुगेकाले पनि बजार बढ्ने संकेत देखिएको रौनियारको भनाइ छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये ११ वटा समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक तीन दशमलव ३५ प्रतिशतले बढ्दा विकास बैंक समूह, जलविद्युत् समूह, होटेल तथा पर्यटन समूह र लगानीगत समूहको सूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् । जीवन बिमा समूह, निर्जीवन बिमा समूह र उत्पादनमूलक समूहको सूचक सामान्यले बढ्दा वाणिज्य बैंक समूहको सूचक र माइक्रो फाइनान्स समूहको सूचक घटेका छन् ।

यस दिन एक सय ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जसमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, हिमालयन ऊर्जा विकास र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य ७ प्रतिशतदेखि आठ दशमलव ८२ प्रतिशतले बढेको छ ।

बजारमा सुधार आए पनि कारोबार रकम भने बढ्न सकेको छैन । बिहीबारको तुलनामा ३४ करोड रुपैयाँले कारोबार घटेको छ । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ३३ लाख कित्ता सेयर खरिद–बिक्र हुँदा एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नबिल बैंक, एनआइसी एसिया बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै तीन करोड रुपैयाँदेखि सात करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया स्लेट फन्ड, एसियन लाइफ इन्स्योरेन्स र रुरु जलविद्युत् परियोजना लिमिटेडको ३ प्रतिशतदेखि ४ दशमलव ९२ प्रतिशतले घटेको छ ।