१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख २६ सोमबार ०६:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाले गठन गर्‍यो छानबिन समिति 

Read Time : < 1 मिनेट
२०७९ बैशाख २६ सोमबार ०६:३२:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० सिनियर खेलाडीबीचको विवाद विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका पूर्वउपरथी भिक्टर राणाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा पूर्वअन्तर्राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य छन् । एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई खेलाडी र प्रशिक्षक विवादको विषयमा तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ । 

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारका कारण १३ वैशाखमा क्याम्प छाडेका थिए । रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तीमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका हुन् । 

एन्फा होस्टेलमा सामान्य सुविधा पनि नभएको भनी मिडफिल्डर रोहितले प्रशिक्षक अलमुताइरीले खेलाडीलाई होटेलमा राख्नुपर्ने माग राखेका थिए । खेलाडीहरूको तर्फबाट माग राखेका रोहितलाई अलमुताइरीले टोलीबाट हटाएपछि विवाद सुरु भएको थियो । अलमुताइरीले १० सिनियर खेलाडीको स्थानमा बन्द प्रशिक्षणमा १७ नयाँ खेलाडीलाई समावेश गरेपछि विवाद झनै बढेको हो ।