१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २५ आइतबार १०:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुक बिल्डिङलाई विश्वसनीय बनाएर कार्यान्वयन गरिने : हमाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २५ आइतबार १०:३३:००

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डङलाई विश्वसनीय बनाएर कार्यान्वयनमा लैजाने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनमा बोल्दै उनले रियल सेक्टरलाई सेयर बजारमा ल्याउने एक मात्र विकल्प बुक बिल्डङको भएको बताए । पुँजी बजारमा सेक्टरल डाइभर्सिटीका लागि बुक बिल्डिङलाई अघि बढाउन आवश्यक रहेको उनले बताए । दोस्रो बजारमा मार्केट मेकर सहभागी हुन नसकेकोप्रति कमजोरी औँल्याउँदै उनले मार्केट डिलरको आवश्यक रहेको उनको भनाइ थियो । ‘मेरो कार्यकाल छोटो छ, गर्नुपर्ने सुधारका काम धेरै छन्, त्यसैले नीतिगत कुराहरूदेखि अनेक समस्यालाई छोटो समयमा सम्पन्न गर्नु छ,’ हमालले भने ।

नेपालमा ७० प्रतिशत नागरिक शिक्षित हुँदा १८ प्रतिशतमा मात्र वित्तीय साक्षर रहेको हमालले बताए । उनले भने, ‘लगानीकर्तामा सेयर साक्षरता एकदम कम छ, साक्षरता नभएर सामाजिक सञ्जालका स–साना हल्लाले बजारमा उतारचढाव आउने गरेको छ, जुन अहिले निकै चुनौती बन्न पुगेको  छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ४४ खर्बसम्म पुगेको सेयर बजार ३१ खर्बमा आइपुग्नुको कारण पत्ता लगाउनुपर्ने बताए । उनले भने, ‘बजारमा सेयर लगानीकर्ताको संख्या दैनिक बढ्दो छ, त्यसमा कति लगानीकर्ता हचुवाका भरमा कारोबार गर्छन्, यो मुख्य प्रश्न हो ।’ राष्ट्र बैंकले एनआरएनलाई डलरमा खाता खोल्ने र डलरमा नै लैजान सक्ने अफर ल्याएको बताए । 

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारलाई परिपक्व बनाउन गैरआवासीय नेपालीलाई भित्र्याउनुपर्ने र बजारमा हुने भित्री कारोबारलाई रोक्नुपर्ने बताए । उनले भने, ‘सेयर बजार हल्लाको पछि कुदिरहेको छ, नियामक निकायले चासो दिन नसक्दा लगानीकर्ता जोखिम मोल्न बाध्य छन्, त्यसैले सबै पक्ष संवेदनशील हुन जरुरी छ ।’ बैंकमा देखिएको तरलता अभावले बजारमा प्रभाव पारे पनि नियामक निकायको समेत आँखा लागेको गोल्छाले आरोप लगाए । उनले केन्द्रीय बैंकले मार्जिन लेन्डिङसम्बन्धी लिएको ४–१२ को नीति गलत समयमा र हचुवाका भरमा आएको बताए । साथै, उनले नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्नु गलत भएको समेत बताए । नेपाल धितोपत्र बोर्डका सञ्चालक अञ्जन श्रेष्ठले सेयर बजारमा १० कित्ते नीति संशोधन आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले विदेशमा रहेका लगानीकर्तालाई अनलाइनबाट कारोबार गर्न सहजीकरण गर्नुपर्ने बताए । ‘विगतमा संस्थागत कमजोरीले बजार बन्द भएको थियो, अब पुँजी बजार अर्थतन्त्रको ऐना हो वा होइन भन्ने विषय मननयोग्य छ,’ उनले भने ।