मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २४ शनिबार ०६:३६:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पोखरा महानगर : गठबन्धनमा  भावना र एमालेमा गुट मिलाउनै कठिन

Read Time : > 7 मिनेट
२०७९ बैशाख २४ शनिबार ०६:३६:००
  • गठबन्धन कागजी बाघ हो, मेरो जित घोषणा गर्न मात्र बाँकी : कृष्ण थापा एमालेका उम्मेदवार 
  • एमालेबाट केही हुँदैन भन्ने जनताले बुझेका छन्, त्यसैले मेरो जित निश्चित : धनराज आचार्य ए. समाजवादीका उम्मेदवार

पार्टीभित्रको अन्तर्विरोधका कारण अन्तिम समयमा उम्मेदवार नै बदलेको एमाले पोखरा महानगरपालिकामा ०७४ कै नतिजा दोहोर्‍याउने  प्रयासमा छ भने तालमेलको बलमा मेयर–उपमेयर नै जित्ने पाँच दलीय सत्तागठबन्धनको रणनीति छ । समग्रमा पोखराको निर्वाचन सत्तागठबन्धन, एमाले र एकीकृत समाजवादीका लागि प्रतिष्ठा बनेको छ ।

दुई पक्षका फरक–फरक रणनीतिबीच निर्वाचन रोचक र पेचिलो बन्नुका केही कारण छन् । पहिलो– नौ महिनाअगाडि मात्रै जन्मिएको एकीकृत समाजवादीका धनराज आचार्य सत्तागठबन्धनका साझा उम्मेदवार छन् । दोस्रो– पार्टीको भविष्य जोडिएकाले हरहालतमा मेयरमा जित हात पार्न एकीकृत समाजवादीले सम्पूर्ण शक्ति लगाएको छ । तेस्रो– तालमेल भए पनि गठबन्धनमा रहेका दलका स्थानीय कार्यकर्ताबीच पूरै भावनात्मक एकता देखिएको छैन । चौथो– एमालेले अन्तिम समयमा दीपक पौडेलको टिकट खोसेर ०५४ का मेयर कृष्ण थापालाई प्रतिस्पर्धामा उतारेको छ । पाँचौँ– रातारात टिकटमा भएको हेराफेरीले एमालेलाई गुट मिलाउनै कठिन भएको छ । छैटौँ– एमाले र पूर्वएमालेबीच मेयरका लागि प्रतिस्पर्धा हुँदै छ । र, सातौँ– अटेरी अभियान चलाएका गनेस पौडेल पनि मेयरका स्वतन्त्र उम्मेदवार छन् । 

क्षेत्रफलका हिसाबले देशकै ठूलो, गण्डकी प्रदेशको राजधानी र पर्यटकीय सहर भएकाले पोखरामा जित निकाल्दा त्यसको सन्देश प्रदेशका ११ वटै जिल्लामा मात्र होइन, समग्र देशभर नै पर्छ । यसबाहेक पोखरामा जितको प्रभाव स्वाभाविक रूपमा आगामी मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनमा समेत देखिनेछ । त्यही कारण पनि गठबन्धन र एमाले दुवै पक्षले जित निकाल्न भरपुर प्रयास गरिरहेका छन् । 

०७४ को निर्वाचनमा कुल ३३ मध्ये २२ वटा वडासहित मेयर–उपमेयर जितेको एमाले आफ्नो बिरासत जोगाउन सबै प्रकारका योजना अपनाउने रणनीतिमा छ । अघिल्लो निर्वाचनमा ११ वटा वडाध्यक्ष जितेको कांग्रेस, कुनै पनि वडामा विजयी हुन नसकेको माओवादी, एमालेबाट विभाजित बनेर बनेको एकीकृत समाजवादीका साथै जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन पोखरा कब्जा गर्ने ध्याउन्नमा छ । एमालेले पार्टी विभाजन हुँदा अन्य प्रदेशको तुलनामा गण्डकीमा कम क्षति व्यहोरेको छ । एकीकृत समाजवादीले जिते गण्डकीमा उसको प्रभाव बढ्ने डर एमालेलाई छ । एकीकृत समाजवादी पोखरामार्फत शक्ति विस्तारको आसमा छ । 

विवेकशील साझा पार्टीकी मेयरकी उम्मेदवार सुशीला केसी अधिकारी गठबन्धनलाई च्यातिएका कपडालाई गाँठो पारिएको र एमालेलाई प्रयोग गर्दागर्दा झुत्रो भइसकेको कपडाको संज्ञा दिन्छिन । उनकै भनाइलाई आधार मान्ने हो भने भिन्न दर्शन र आदर्श बोकेका तथा आफैँमा गुटगत प्रवृत्तिबाट अगाडि बढेका दललाई मिलाएर अगाडि बढ्न मेयरका उम्मेदवार आचार्यलाई त्यति सजिलो पनि छैन । भर्खर–भर्खर जन्मिएर आफ्नो शक्ति परीक्षण नगराइसकेको दल एकीकृत समाजवादीका उम्मेदवार आचार्यको अपनत्व कांग्रेसका सबै कार्यकर्ताले लिन्छन् कि लिन्नन् भनिहाल्न सक्ने अवस्था बनिसकेको छैन् । गठबन्धनका उम्मेदवार आचार्य भने वडा तहसम्म संगठन निर्माण गरेका दलहरूबीच मजबुत सहकार्य रहेको दाबी गर्छन् । 

एमाले उम्मेदवार थापा यसअघि छोटो अवधि उपत्यका नगर विकास समितिका अध्यक्ष तथा ०५४ मा मेयर र त्यसपछि पनि प्रदेश सांसद भएर परीक्षण भइसकेका पात्र हुन् । त्यसमाथि एमालेभित्रमै झाँगिएको गुटगत प्रवृत्ति अनि सोही पार्टीबाट विभाजित भएर अर्को शक्ति खडा भएकाले उनको अवस्था पनि के हुने भन्ने अन्योल छ । थापा भने आफूजस्तो अनुभवी मान्छे दोहोरिएर मेयर बन्न आएकोमा पोखरावासीले गौरव गरिरहेको दाबी गर्छन् । 

गठबन्धनको मेयरका उम्मेदवार आचार्य र एमालेका थापा पूर्वसहकर्मी हुन् । आचार्य एमालेकै राजनीतिसँगै विभिन्न सामाजिक र व्यावसायिक संघसंस्थाको नेतृत्व गर्दै आएका व्यक्ति हुन् । एमालेको माधव नेपाल समूहले देशभर समानान्तर कमिटी निर्माण गर्ने क्रममा आचार्य कास्कीमा संयोजक थिए । हाल उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्यका साथै कास्की अध्यक्षसमेत छन् । 

कम्युनिस्ट नेता उत्पादन गर्ने थलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा ०५१ मा स्ववियु सभापति भएका आचार्यले राजनीतिमै उचाइ भने लिएका थिएनन् । यद्यपि, स्वर्गीय रवीन्द्र अधिकारीका बालसखा उनी विगतका विभिन्न चुनावमा एमालेको रणनीति निर्माणमा भने सामेल थिए । 

पृथ्वीनारायण क्याम्पस स्ववियु सदस्य, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै जनपक्षीय चुनाव परिचालन कमिटी सम्हालेका थापाले पञ्चायत राजकाज मुद्दामा २९ महिना जेलजीवन पनि बिताए । उनी ०५१ मा उपत्यका नगर विकासको अध्यक्ष थिए । ०५२ मा एमाले पोखरा नगर सचिव बनेका उनी त्यसको दुई वर्षपछि ०५४ मा पोखराको मेयर बने । ०६५ मा एमाले जिल्ला सचिव बनेका थापा ०७० मा नवौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पनि भए । उनी ०७४ मा कास्की २ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचत भएका थिए । हाल एमालेको केन्द्रीय सदस्य रहेका थापा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर दोस्रोपटक पोखराको मेयरका लागि प्रतिस्पर्धामा छन् । 

एमालेले अन्तिममा टिकट खोसेका दीपक पौडेल भन्छन्–मेरो सामाजिक–राजनीतिक जीवन ध्वस्त पारियो, यस्ता प्रवृत्तिविरुद्ध पार्टीभित्रै लड्छु

राजनीतिलाई अपराधीकरण गर्ने र आफैँ पदमा बसिरहन पर्ने प्रवृत्तिका केही व्यक्तिले मेराविरुद्ध षड्यन्त्र गरेका हुन् । त्यही षड्यन्त्रलाई आधार बनाएर मलाई पार्टीको केन्द्रीय सचिवालयबाट नै दिइएको टिकट खोसियो । यसले मेरो सामाजिक–राजनीतिक जीवन नै ध्वस्त पारेको छ । राजनीतिमा यस्ता घटना गराएर सिध्याउने खेल भइरहन्छन् । यसको गहिरो छानबिन होस् भनेर मैले पार्टी उपाध्यक्षलाई प्रस्ट भनेको छु । उहाँले यसको निष्पक्ष छानबिन हुन्छ भन्नुभएको छ । यस्ता प्रवृत्तिविरुद्ध पार्टीमै निरन्तर लडिरहनेछु ।

एमालेले सुरुमा दीपक पौडेललाई मेयर बनाउने निर्णय गरेको थियो । तर, विवादित भिडियो सार्वजनिक भएपछि उनको टिकट खोसेर एमालेले थापालाई अगाडि सारेको हो । भिडियो सार्वजनिक गर्नुमा थापाकै हात रहेको एमालेभित्रै आरोप पनि छ । पौडेलले पनि ‘अस्वस्थ प्रतिस्पर्धामा घिनलाग्दो ढंगले अगाडि बढ्ने पार्टीभित्रका केही पात्रको प्रवृत्ति’ भनेर मेयर उम्मेदवार थापामाथि घुमाउरो पाराले प्रश्न उठाएका छन् । 

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीबीच राम्रो सम्बन्ध छैन । सुरुमा गुरुङ पक्षका दीपकले मेयरको टिकट पाएका थिए । तर, विवाद जन्मिएपछि अधिकारी पक्षका थापाले मौका पाए । गुरुङ पक्षका एक नेता अधिकारी पक्षले जानीबुझी पुरानो भिडियो ल्याएर दीपकको मेयरको टिकट खोसेको आरोप लगाउँछन् । थापाले आफू अन्तिमपटक चुनाव लड्न थालेको बताएका छन् । 

मेयरको टिकट खोसिएका एमाले नेता पौडेलले आफूमाथि पार्टी नेतृत्वबाट पनि अन्याय भएको गुनासो गरेका छन् । राजनीतिलाई अपराधीकरण गर्ने पार्टीभित्रकै तŒवले सुनियोजित ढंगले हुँदै नभएको आरोप लगाएको र त्यसैलाई आधार बनाएर सचिवालयबाट नै टिकट दिन गरिएको निर्णय उल्ट्याएको उनले बताए । उनले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग आफ्नो कुरा राखेका छन् । ‘राजनीतिलाई अपराधीकरण गर्ने प्रवृत्ति र आफैँ पदमा बसिरहन पर्ने प्रवृत्तिका केही व्यक्तिले मेराविरुद्ध षड्यन्त्र गरेका हुन् । त्यही षड्यन्त्रलाई आधार बनाएर मलाई पार्टीको केन्द्रीय सचिवालयबाट नै दिइएको टिकट खोसियो । यसले मेरो सामाजिक–राजनीतिक जीवन नै ध्वस्त पारेको छ,’ उनले भने, ‘राजनीतिमा यस्ता घटना गराएर सिध्याउने खेल भइरहन्छन् । यसको गहिरो छानबिन होस् भनेर मैले उपाध्यक्षलाई प्रस्ट भनेको छु । उहाँले यसको निष्पक्ष छानबिन हुन्छ भन्नुभएको छ । यस्ता प्रवृत्तिविरुद्ध पार्टीमै निरन्तर लडिरहनेछु ।’

मतदाता र पूर्वजनप्रतिनिधिका पनि निर्वाचनबाट आउने प्रतिनिधिप्रति अपेक्षा छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा– ११ की दीक्षा बास्तोला पहिलोपटक आफ्ना जनप्रतिनिधि छान्न मत दिँदै छिन् । अघिल्लो निर्वाचनताका र त्यसपछि पनि पोखरालाई स्मार्ट सिटी बनाउने धेरै सुनेकी उनी यी विषय गफमै सीमित भएको आफूले अनुभव गरेको सुनाउँछिन् । ‘मैले स्कुल पढ्दा पोखरालाई स्मार्ट सिटी बनाउने धेरै सुनेँ । तर, स्मार्ट सिटी बन्नेतर्फ पोखरा अग्रसर भएको महसुस गर्न नै सकेकी छैन । स्मार्ट सिटी हुनका लागि चाहिने पूर्वाधार निर्माणको कुरा परै जाओस् भएका पनि गुमेजस्तो अनुभव हुन्छ,’ कक्षा १२ को परीक्षा सकेर एमबिबिएसको तयारीमा जुटेकी उनले भनिन्, ‘चाहेको र रोजेको विषय पढ्न पाउने अवस्था यहाँ छैन । राम्रो विषय पढ्न पनि काठमाडौं जानुपर्ने बाध्यता छ । शैक्षिक रूपमा जुनखालको व्यवस्था हुनुपर्ने हो, त्यो हुन सकेको छैन । पढाइ सकेका दाइदिदी पनि यहाँ बसेर केही गर्ने वातावरण छैन भने कसरी यहाँको विकास हुन्छ ?’ 

पोखराका पूर्वमेयर (०४९) भोला थापाले मेयर इमानदार हुने हो भने पोखरामा धेरै राम्रो गर्न सक्ने बताए । तर, यसका लागि मेयर पहिला पार्टी र परिवारवादबाट माथि उठ्नुपर्ने उनको मत छ । ‘मेरा पाला नगरपालिकाको बजेट अहिलेको वडाको भन्दा थोरै थियो । अहिले स्रोत–साधन प्रशस्त छ । काम गर्न चाह्यो भने धेरै गर्न सकिन्छ । स्रोतको खाँचो हुँदैन,’ उनले भने, ‘तर, मेयर इमानदार हुनुपर्छ, ऊ दलबाट माथि उठ्नुपर्छ । विज्ञदेखि सर्वसाधारणको कुरा सुन्नुपर्छ र कार्यान्वयनमा जानुपर्छ । लथालिंग अवस्थामा पोखरालाई राख्नुहुन्न । राम्रो काम गर्‍यो भने विरोधीले पनि स्यावास गर्छन् । पोखरामा भ्रष्टाचार भयो भनेका छन् । यस्ता कुराले जनप्रतिनिधिलाई छुनुपर्ने हो, जे भने पनि नसुन्ने अब त्यस्तो हुनुहुन्न ।’ 

पोखरामा मुख्य प्रतिस्पर्धामा रहेका गठबन्धन र एमालेका तर्फबाट उम्मेदवार बनेका दुवै उम्मेदवारले यहाँको पूर्वाधार विकासमा जोड दिएका छन् । तर, नागरिकको चासो सम्पदाको संरक्षण र उचित व्यवस्थापनमा छ । विकासमा सरोकार राख्नेहरू ठूला कुराभन्दा पनि पोखराको प्रकृति र सौन्दर्य नबिग्रने गरी नागरिकको भावना बुझिदिए पुग्ने बताउँछन् । 

गैरसरकारी संस्था महासंघ गण्डकीका निवर्तमान अध्यक्षसमेत रहेकी अधिकारकर्मी विना सिलवाल गठबन्धन या एमालेका उम्मेदवार जसले जिते पनि पोखरामा प्राकृतिक साधन–स्रोतको संरक्षणमा जोड दिनुपर्ने बताउँछिन् । ‘घोषणा ठूला गर्ने, तर कार्यान्वयनमा नलैजाने विगतको प्रवृत्तिसँग जनता आजित छन् । यहाँको ट्राफिक व्यवस्थापन गर्नुपर्छ । लैंगिक विभेदको अन्त्य हुनुपर्छ । विद्यालयको पहुँचमा नपुगेका बालबालिकाको सम्बोधन र सडक बालबालिकाको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन्, ‘कुन उम्मेदवारले जित्नुपर्छ या पर्दैन भन्नुभन्दा पनि यी विषय पूरा गर्ने पात्र पोखराको मेयर बन्नुपर्छ ।’

पोखराका नागरिक अभियन्ता रामबहादुर पौडेल दलगत रूपमा जोसुकै आए पनि र जो विजयी भए पनि काम गर्ने इच्छाशक्ति हुनुपर्ने बताउँछन् । महानगरको वर्तमान नेतृत्व विभिन्न शक्ति समूहको घेरामा पर्दा पोखराको विकास धेरै पछाडि परेको उनको टिप्पणी छ । ‘निश्चित भिजन भएका पात्रले जित्नुपर्छ । पोखरा बनाउने दृढ इच्छाशक्ति हुनुपर्‍यो । विज्ञसँग सल्लाह गरेर योजना बनाएर अगाडि बढ्नुपर्‍यो । फेवालगायतका तालको संरक्षणको खाका चाहियो,’ उनले भने, ‘फोहोर जहाँतहीँ फाल्ने चलन छ । यसको अन्त्य गरेर उचित व्यवस्थापन गर्नुपर्‍यो । पैसा नदिई काम नहुने अवस्था छ । त्यसको अन्त्य गर्दै भ्रष्टाचारमुक्त बनाइनुपर्‍यो । ठूलो–ठूलो कुरा गर्ने नभई काम गर्ने अनि पोखरा नबिगार्ने मान्छेले नेतृत्व गरोस् भन्ने हो ।’ 

प्रा.डा. चन्द्रा भद्रा पर्यटकीय र अन्तर्राष्ट्रिय सहरका रूपमा विकास भइरहेको पोखरा हिंसारहित हुनुपर्ने बताउँछिन् । ‘पोखरालाई २४ सै घन्टा खुला राख्नुपर्ने विषय उठेको छ । राति अबेर पनि महिलाले आफू सुरक्षित रहेको महसुस गर्न पाउने वातावरण चाहिन्छ । प्राकृतिक रूपमा सुन्दर पोखरालाई विकास निर्माण गर्दा यसको स्वरूप बिगार्न हुँदैन,’ उनले भनिन्, ‘हामी राजनीतिक रूपमा यो वा त्यो भन्दैनौँ । पोखरामा जतिसुकै वेला पनि महिलाले आफू सुरक्षित रहेको महसुस गर्नुपर्छ । कुनै पनि प्रकारका हिंसा हुनुहुन्न, विभेद हुनुहुन्न । मेयर जो आए पनि यसमा जोड दिऊन्,’ उनले भनिन् । 

पोखरामा गठबन्धन दल र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिए पनि अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि चुनौती दिने दाबी गरिरहेका छन् । ०७४ मा एमालेका मानबहादुर जिसी (विजयी)ले ६० हजार एक सय १८, दोस्रो बनेका कांग्रेसका रामजी कुँवरले ४३ हजार चार सय १६, संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले तीन हजार एक सय ७०, राप्रपाका रिता गुरुङले दुई हजार दुई सय ७२, अखण्ड नेपाल पार्टीका मोती गिरीले दुई सय ९६, मालेका टेकनाथ भण्डारीले दुई सय ९८, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्रीले दुई सय ६ र स्वतन्त्र उम्मेदवार अमनविक्रम थापाले एक सय ४० मत पाएका थिए । 

कसका घोषणापत्रमा के ? 

एमाले

एमालेले जारी गरेको  घोषणापत्रमा मेट्रोट्रेन र मोनोरेल अध्ययन तथा सञ्चालन गर्ने उल्लेख छ । फ्लाई ओभर, साइकल लेन, ओभरहेड ब्रिज बनाउने, सुकुमबासी समस्या समाधान गर्न एकीकृत बस्ती बनाउनेजस्ता विषय पनि घोषणापत्रमा समेटिएका छन् । तार अन्डरग्राउन्ड, उच्चगतिको इन्टरनेट, स्वास्थ्य बिमा, फुटपाथ तथा साना पसल नियमन–व्यवस्थापन, गण्डकीका विभिन्न धर्म, संस्कृतिका लागि बहुसांस्कृतिक ग्राम निर्माण र महानगरमा चक्रपथ निर्माणलगायतका विषय पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । 

सत्तागठबन्धन
फेवादेखि वेगनाससम्मको १० किलोमिटर क्षेत्रमा कनेक्टिङ मेट्रो सञ्चालन, रिङरोडको सम्भाव्यता अध्ययन सकेर काम सुरुवात गर्ने, फेवातालमा मिसिने ढललाई बाइपास गरेर तालमा मिसिन नदिई अन्यत्र व्यवस्थापन गर्ने विषय गठबन्धनको घोषणापत्रमा छ । पाँच वर्षमा एक हजार पाँच सय ३५ किलोमिटर सडकखण्ड कालोपत्रे, उहिलेको जीवन्त पोखरा निर्माण, पोखरा बसपार्कलाई सिटी बसपार्कका रूपमा निर्माण गर्ने, फोहोरलाई मोहरमा परिणत गर्ने, पोखराका सडकमा भिखारी र छाडा चौपाया देख्न नपाइनेलगायतका विषय पनि गठबन्धनले घोषणापत्रमा समावेश गरेको छ । 

साना दल र स्वतन्त्रलाई पनि जितको आस

पोखरा महानगरमा राप्रपाका मेयरका उम्मेदवार शंकर खराल ठूला दलसँग आजित भइसकेकाले यसपालि जनताले राप्रपालाई रोज्ने दाबी गर्छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले नागरिक दिक्क भएकाले अब जनताले राजतन्त्र, धर्मसापेक्षीका साथै भ्रष्टाचारविरोधी शक्ति रोजेकाले आफ्नो जित हुने उनको भनाइ छ ।

पोखरामै अटेरी अभियान चलाएका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेल स्थानीय तहको विकास दलहरूबाट सम्भव नदेखेकैले आफू मैदानमा आएको बताउँछन् । माथिबाट लादिएको विकास, नेता र तिनीहरूका कार्यकर्ता पोस्ने दलीय प्रवृत्तिले जनता आजित रहेकाले आफूहरूजस्ता युवाहरूले चुनौती दिएको र जित पनि निकाल्ने उनको दाबी छ ।