१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार १६ महिनायताकै न्यून बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २२ बिहीबार ०६:५१:००

सेयर बजार १६ महिनायताकै न्यूनतम बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक ३१ दशमलव ७६ अंकले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ बिन्दुमा आइपुगेको हो । यसअघि २०७७ पुस २८ गते नेप्से परिसूचक दुई हजार दुई सय ४३ दशमलव १६ बिन्दुमा रहेको थियो । नेप्सेमा आएको निरन्तर गिरावटले बजार १६ महिनापछिको न्यूनतम बिन्दुमा आइपुगेको हो । लगानीकर्ताले बनाउँदै आएको दुई हजार तीन सयको मनोवैज्ञानिक बिन्दुबाट तल ओर्लिएर बजारले १६ महिनाअघिका नजिकको बिन्दु छोएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन् । जीवन बिमा समूह, जलविद्युत् समूह, फाइनान्स समूह, विकास बैंक समूह, ट्रेडिङ समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन् । माइक्रोफाइनान्स समूह, ‘अन्य’ समूह, होटेल तथा पर्यटन समूहको सूचक एक प्रतिशतमाथिले घटेका छन् ।सुचकमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । बजार भाउ निकै सस्तो भइरहे पनि लगानीकर्ताले सेयर किनेका छैनन् । घर–जग्गा व्यापार सुस्त हुनु तथा महँगी बढेका कारण पनि लगानीकर्ताको क्षमता घटेको ब्रोकरहरूको अनुमान छ । अर्थतन्त्रमा सुधार आउन नसकेको हल्लाले पनि बजारलाई प्रभावित पारिरहेको देखिन्छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ३६ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । १६ महिनाअघि सोही बिन्दुमा हुँदा चार अर्बमाथिको कारोबार भएको थियो ।यस दिन अरुणभ्याली हाइड्रोपावर कम्पनीको चार करोड ५८ लाख रुपैयाँको सबैभन्दा धेरै सेयर खरिद–बिक्री भएको छ । हिमालय डिस्टिलरी, नबिल बैंक, नेपाल दूरसञ्चार कम्पनीको सेयर तीन करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
यस दिन एक सय ७७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १५ वटा कम्पनीको सेयर मूल्य बढेका छन् ।ग्रिन भेन्चर्स लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ३६ प्रतिशतले घटेको छ । युनियन हाइड्रोपावर, सप्तकोसी डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेका छन् ।
 बुधबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर कम्पनीको चार दशमलव ४५ प्रतिशतले बढेको छ ।