मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ फाल्गुण ३० बिहीबार ०८:५८:००
Read Time : > 1 मिनेट
अर्थ

एक महिनामै १ खर्ब १० अर्बले आयात बढ्यो

सात महिनामा ८ खर्ब ३३ अर्बको आयात हुँदा निर्यात ५३ अर्बको मात्रै

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार ०८:५८:००

पछिल्लो एक महिनामा नेपालको आयात करिब सवा खर्ब रुपैयाँले बढेको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार गत माघ महिनामा मात्रै नेपालले १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात गरेको हो । यससँगै चालू आवको सात महिनामा नेपालको कुल आयात ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । 

केन्द्रका अनुसार यस वर्षको सात महिना अवधिको आयात अघिल्लो आव २०७४/७५ को सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालमा ६ खर्ब ७५ अर्बको वस्तु आयात भएको केन्द्रको तथ्यांक छ ।

यी हुन् धेरै आयात बढ्ने वस्तु
माघ महिनासम्म खासगरी हवाईजहाज र यसका पार्टस्, पेट्रोलियम पदार्थ, आइरन स्टिल र विद्युतीय सामग्री, लत्ताकपडालगायत वस्तुको आयात उच्च दरले बढेको छ । समीक्षा अवधिमा हवाईजहाज र यसका पार्टस्को आयात सबैभन्दा बढी अर्थात् २ सय २७ प्रतिशतले बढेको छ । त्यस्तै, पेट्रोलियमको आयात ३७.६ प्रतिशत, स्टिल एन्ड आइरनको ४१.६ प्रतिशत, लत्ताकपडाको १ सय ६७ प्रतिशत र विद्युतीय सामग्रीको आयात ३३.६ प्रतिशतले बढेको हो । तर, मेसिनरी र क्लिंकरको आयात भने क्रमशः ४ प्रतिशत र २९ प्रतिशतले घटेको छ । 

५३ अर्बको निर्यात
समीक्षा अवधिमा नेपालको निर्यात १२.२ प्रतिशतले बढेर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा नेपालले ४७ अर्ब २९ करोड रुपैयाँको निर्यात गरेको थियो । समीक्षा अवधिमा आयुर्वेदिक औषधि, मुसुरोको दाल, चाउचाउ, आइरन एन्ड स्टिल र धागोको निर्यात उच्चदरमा बढेको छ । तर, जुट, अलैँची, जुत्ता, हस्तकला, अदुवा, छाला, मासुलगायतको निर्यात भने उल्लेखनीय रूपमा घटेको केन्द्रको तथ्यांक छ । 


 
व्यापार घाटा ७ खर्ब ८० अर्ब

सात महिनामा नेपालको कुल व्यापार २२.७ प्रतिशतले बढेर ८ खर्ब ८६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सात महिनामा नेपालको कुल व्यापार ७ खर्ब २२ अर्बको थियो । कुल व्यापारमा आयातको हिस्सा ९४ प्रतिशत र निर्यातको हिस्सा ६ प्रतिशत रहेको छ । निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालको व्यापार घाटा ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ पुगेको छ । सात महिनाको व्यापार घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो ।

विलासिताका वस्तुको आयातमा कडाइ गर्नुपर्छ : शरदविक्रम राणा
कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र

उच्च दरमा आयातर व्यापार घाटा बढेको देखिन्छ, यद्यपि आत्तिहाल्नुपर्ने अवस्था छैन । किनकि, नेपालमा उत्पादकत्वलाई टेवा दिने, निर्यातलाई सघाउने र आर्थिक गतिविधि बढाउने गरी बढी आयात भएको छ । मेसिनरी, औद्योगिक कच्चा पदार्थ, हवाईजहाजलगायतले यहाँको उत्पादकत्व बढाउँछ । यद्यपि, केही विलासिताका वस्तुको आयातलाई भने कडाइ गर्नुपर्ने देखिन्छ ।

प्राथमिकता प्राप्त वस्तुको निर्यात बढेन
सात महिनाको तथ्यांकले प्राथमिकता प्राप्त वस्तुको निर्यात बढ्न नसकेको देखाएको छ । समीक्षा अवधिमा नेपाल एकीकरण व्यापार रणनीति –एनटिआइएस)मा परेका वस्तुको निर्यात २१ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१ प्रतिशतले मात्रै बढी हो । एनटिआइएसमा समावेश ९ वस्तुमध्ये ४ वटाको निर्यात घटेको छ ।  केन्द्रका अनुसार एनटिआइएसमा परेको अलैंची, अदुवा, जुत्ताचप्पल र छालाको निर्यात घटेको हो । गलैँचा, पस्मिना, कपडा तथा धागो, आयुर्वेदिक औषधि र चियाको निर्यात भने बढेको छ ।