१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख २० मंगलबार १९:२०:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुरमा सत्तागठबन्धनको प्रतिबद्धता : किसानलाई पेन्सन, भूमिहीनलाई घर

Read Time : > 1 मिनेट
२०७९ बैशाख २० मंगलबार १९:२०:००

सत्तागठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिबद्धता सार्वजनिक गरेको छ । पाँचदलीय सत्तागठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरका उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले मंगलबार ‘लोकतान्त्रिक–वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिबद्धता-पत्र’ सार्वजनिक गरेका हुन् । 

यस्ता छन् मुख्य प्रतिबद्धता

  • भरतपुर महानगरभित्रका किसानलाई पेन्सन
  • बिउदेखि ढुवानीसम्म अनुदान
  • प्रत्येक भूमिहीनलाई आवास निर्माण
  • महिलालाई सुरक्षा र सम्मानको प्रत्याभूति
  • ‘मेड इन भरतपुर’ ब्रान्डिङ र बजारीकरण
  • एक वडा, एक उद्यम र उत्पादन
  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, विशेष भत्ता
  • विद्यार्थीलाई निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षा
  • महानगरका सेवा पूर्ण प्रविधिमैत्री
  • महानगरमा एसियाली मापदण्डका भौतिक पूर्वाधार
  • प्रत्येक वडामा अस्पताल
  • पर्यटनलाई स्वरोजगारको आधार बनाउने
  • बेरोजगारमुक्त भरतपुर बनाउने
  • इलेक्ट्रिक बस सञ्चालन गर्ने 

प्रतिबद्धता-पत्रमा विकासका योजनासँगै किसानलाई पेन्सन दिनेजस्ता विभिन्न कार्यक्रम समावेश गरिएका छन् । महिलाका लागि सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी गरिने भनिएको छ । भूमिहीनसँग हरेकको आफ्नै घर हुने संकल्प गरिएको छ । कृषकलाई किसान पेन्सनसँगै बिउदेखि ढुवानीसम्म अनुदान दिने भनिएको छ । 

देशमै सबैभन्दा राम्रो व्यावसायिक वातावरण बनाई मेड इन भरतपुरको ब्रान्डिङ र बजारीकरण गर्दै एक वडा एक उद्यम र उत्पादन गरिने उल्लेख छ । जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवासहित विशेष भत्ता, विद्यार्थीलाई निःशुल्क इन्टरनेट र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरिने वाचा प्रतिबद्धता गठबन्धनको छ । 

सुशासन र सेवा प्रवाहमा डिजिटल महानगर, एसियाली मापदण्डको भौतिक पूर्वाधार, सबैका लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल, बेरोजगारीमुक्त भरतपुर, इलेक्ट्रिक बस संचालन, खेलकुद केन्द्र बनाउनेलगायतका २२ बुँदा प्रतिबद्धता जनाइएको छ । 

सार्वजनिक प्रतिबद्धतामा गठबन्धनको आवश्यकता र औचित्य, बितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखीकरण र आगामी कार्ययोजनाबारेमा पनि प्रस्ट पारिएको छ ।

प्रतिबद्धतामा महानगरले बितेको पाँच वर्षमा सडकस्तर उन्नति गरेको विषय उल्लेख छन् । पाँच वर्षका अवधिमा ६२२ किलोमिटर कालोपत्रे, महानगरीय चक्रपथ, लिंक रोड, बाइपास रोडको स्तरोन्नति, नारायणगढ गोन्द्राङ व्युटिफिकेसनसहित ६ लेन सडक निर्माण, भरतपुर -मेघौली, चौबीसकोठी -गीतानगर -जगतपुर सडकको स्तरोन्नतिलाई समेटिएको छ । 

नारायणी तटबन्धनको लागि बजेट व्यवस्था, सिटीहल, लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको थालनी, देवघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माण, स्मार्ट सडक बत्ती परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहोर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारलाई समुन्द्री किनारजस्तै विकास गर्नेलगायतका विभिन्न परियोजनाको विषयलाई जोडेर केही काम सम्पन्न हुने अवस्थामा रहेका, केही सुरु भएका र केही सुरु हुने तयारीमा रहेको उल्लेख गरिएको छ । 

प्रतिबद्धतामा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन, प्रकृति संरक्षणमा जोड दिँदै प्राकृतिक स्रोतसाधनको उपभोग, सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागितालाई प्राथमिकतामा राखिएको छ । 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चासहित पाँच दलको गठबन्धन रहेको साझा प्रतिबद्धता-पत्रमा ‘जनादेश कुल्चिनेलाई खबरदारी, लोकतन्त्रका रक्षकलाई जिम्मेवारी भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प’ को नारा लेखिएको छ । 

सोही कार्यक्रममा सत्तागठबन्धनमा रहेका पाँच दलको तर्फबाट चितवनको समग्र घोषणा-पत्र पनि जारी गरिएको थियो । उक्त घोषणा-पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।