१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २० मंगलबार ११:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्रेडिट कार्ड र वालेटबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २० मंगलबार ११:०५:००

क्रेडिट कार्डको स्वीकृति सीमाको १० प्रतिशत मात्रै नगद झिक्न पाइने, कार्डबाट वालेटमा हालिएको रकम बैंक खातामा पठाउन नमिल्ने

नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै क्रेडिट कार्डबाट नगद झिक्न, वालेटमा पठाउन र त्यसको प्रयोगमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा पठाउन र नगद झिक्न नमिल्ने व्यवस्था गरेको छ । ‘क्रेडिट कार्डमार्फत लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्नेछ,’ परिपत्रमा उल्लेख छ, ‘उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवाप्रदायक संस्थाले गर्नुपर्नेछ ।’

राष्ट्र बैंकले सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने उल्लेख गरेको छ । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सकिने बैंकले जनाएको छ । 

प्रयोजन अनिवार्य खुलाउनुपर्ने
विद्युतीय वालेटको कारोबारमा प्रयोजन अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । ‘विद्युतीय वालेटबाट रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ,’ राष्ट्र बैंकले सर्कुलरमा भनेको छ । 

त्यस्तै, विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिए कानुनबमोजिम सहुँला–बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रूपमा स्वःघोषणा गर्न लगाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।