मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धार्चे गाउँपालिका–५, गुम्दामा किराले खाएको मकैको बोट
२०७९ बैशाख १९ सोमबार १०:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आलु जोन क्षेत्रमा नै मकै र आलुमा किराको प्रकोप, किसान चिन्तित

Read Time : > 1 मिनेट
२०७९ बैशाख १९ सोमबार १०:२७:००

गोरखाको धार्चे गाउँपालिका–५, गुम्दा आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ । मुख्य खाद्यान्न बालीका रूपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरू चिन्तित भएको स्थानीय सन्ध्या गुरुङले बताइन् । ‘यसपालि आलु र मकै केही छैन, किराले सबै खाइसक्यो, खेतबारी नै खाली हुन लाग्यो,’ गुरुङले भनिन्, ‘आलुको बोटमा डाँठ मात्रै छ, मकैको पनि त्यस्तै छ ।’ केही ठाउँमा बिरुवा किराले खाएपछि किसानले गोडमेलमा चासो दिन छाडेका छन् । एउटै बोटमा पाँच–सातवटासम्म किरा भेटिएको गुरुङले बताइन् । 

बङ्स, कोराजुङ, माछाखोलालगायत गाउँमा किराले धेरै सताएको गुम्दाका कर्णबहादुर गुरुङले बताए । ‘अघिल्लो वर्ष ६–७ मुरी आलु फलेको थियो । आम्दानी राम्रो भएको थियो । तर, अहिले किरा लागेकाले दुई मुरी पनि नहोलाजस्तो छ,’ उनले भने, ‘यहाँ धानखेती हुँदैन । स्थानीयको मुख्य बाली आलु, मकै हो । मुख्य बालीमै क्षति पुगेपछि गुजारा चलाउनै मुस्किल हुन्छ ।’ 

फागुनमा रोपेको मकै भदौमा र मंसिर अन्तिम तथा पुसमा लगाएको आलु जेठमा भित्र्याइन्छ । धार्चेमा जस्तै अन्यत्र पनि यस्तो समस्या देखिएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । ‘गोरखाका धेरै पालिकाहरूमा आलु र मकैमा किराको प्रकोप देखिएको छ,’ कृषि ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘धेरै ठाउँमा कार्यालयबाट औषधि पनि पठाइरहेका छाैँ ।’ 

धार्चेको गुम्दालगायतका ठाउँमा बर्खे सिजनमा लगाएका आलुमा लुपर किराले धेरै समस्यामा पारेको उनले बताए । अचानक यस्तो समस्या देखिएको बताउँदै आलु जोन घोषणा गरेका क्षेत्रहरूमा जोनमार्फत  नै औषधि वितरण गर्ने काम भइरहेको उनले बताए । यसका लागि क्लोरो साइपर औषधि दुई लिटर पानीमा दुई एमएल हालेर छर्न सकिनेछ । 

गोरखामा विगत दुई–तीन वर्षदेखि नै यो समस्या रहेको उनले बताए । धेरै रोपनी क्षेत्रफलमा किराले सखाप पारेको खण्डमा सम्बन्धित पालिकाको कृषि शाखाबाट कृषि ज्ञानकेन्द्र गोरखामा निवेदन दिन उनले आग्रह गरे । आरुघाट, बारपाक, सुकिलोट, सिरानचोक र अजिरकोटलगायतका क्षेत्रमा पनि आलु र मकैको बोटमा किराको प्रकोप देखिएको छ ।