मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०९:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शुक्रबार सेयर बजार खुला गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०९:२३:००

शुक्रबार पनि सेयर बजार सञ्चालनमा ल्याउने तयारी भएको छ । सरकारले १ जेठदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि बजार सञ्चालनमा ल्याउन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले छलफल गरेका हुन् ।

अहिले नेप्से आइतबारदेखि बिहीबारसम्म खुल्दै आएको छ । नयाँ व्यवस्थाअनुसार लगातार तीन दिन बजार बन्द हुने भएपछि बोर्ड र नेप्सेलाई बजार सञ्चालन गर्नुपर्ने दबाब आइपरेको छ । धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले ‘टास्क फोर्स’ गठन गरेर परीक्षण अध्ययन गरी छलफल भइरहेको र यसको सम्पूर्ण जिम्मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई रहेको जानकारी दिए । गिरीका अनुसार ‘टास्क फोर्स’मा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज, धितोपत्र दलाल (ब्रोकर) सिडिएससी रहेका छन् ।

यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार बजार सञ्चालन गर्न नेप्से तयार रहेको बताए । ‘अहिलेसम्म बोर्ड र नेप्सेबीच बजार सञ्चालन गर्ने नै भन्ने भएको, तर अहिले पूर्ण रूपमा निर्णय भने भइसकेको छैन, सूचना प्रकाशित गरेर जानकारी दिन्छौँ,’ उनले भने ।

केही प्राविधिक समस्या रहेको र त्यसलाई समाधान गरेर सञ्चालनमा ल्याउने तयारीमा भएको पराजुलीले बताए । यता लगानीकर्ता र ब्रोकरहरूले पनि शुक्रबार सेयर बजार खुुला गर्न सकारात्मक जनाएका छन् । ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले शुक्रबार बजार खुल्नु सकारात्मक भएको बताए । ‘शुक्रबार कारोबार भए पनि राफसाफको काम सोमबार हुन्छ । यो नियमितजस्तै हुने हुँदा यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । लगानीकर्ता संरक्षणा चौधरीले पनि बजार सञ्चालन सकारात्मक हुने बताइन् । ‘बिदा भइरहँदा समस्या हुन्छ, साना–ठूला लगानीकर्ता पनि छन्, जसले गर्दा शुक्रबार बजार सञ्चालनमा आउँदा राम्रो हुन्छ,’ चौधरीले भनिन् ।