मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०८:२१:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली सिनेमाले आस गरेको वर्ष : रिलिजको तयारीमा आधा दर्जनभन्दा बढी सिनेमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १९ सोमबार ०८:२१:००

नयाँ वर्षको सुरुमै नेपाली सिनेमा ‘ए मेरो हजुर ४’ ले राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ । यही सिनेमालाई आधार मानेर ०७९ साल नेपाली सिनेमा उद्योगका लागि सुखद र आशा गरिएको वर्ष हुने कलाकर्मीहरूको अपेक्षा छ ।यो सिनेमाले नेपाली चलचित्रकर्मीमा उत्साह पनि भरेको छ । निर्माण सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका धेरै सिनेमा यसै वर्षका लागि प्रदर्शन मितिसमेत घोषणा भइरहेका छन् ।

निर्देशक दिपेन्द्र के खनाल ०७८ साल सिनेमा निर्माण, वितरण र प्रदर्शनका लागि सुखद नरहेको बताउँछन् । ‘तर ०७९ साल पक्कै राम्रो हुने संकेत देखिएको छ,’ खनाल भन्छन् । यस वर्ष खनालको ‘चिसो मान्छे’सँगै, दिनेश राउतको ‘प्रकाश,’ रामबाबु गुरुङको ‘कबड्डी–४’, सुर्वण थापाको ‘राधा’, दिपाश्री निरौला र दिपकराज गिरीको ‘छक्का पञ्जा ४,’ सुरज पाण्डेको ‘परस्त्री’, खगेन्द्र लामिछानेको ‘पानी फोटो’ प्रदर्शनको तालिकामा छन् । यिनै चलचित्रका कारण पनि यो वर्ष विशेष बन्ने अपेक्षा धेरैको छ ।

दर्शक हलमा फर्काउनु नै चुनौती
नेपाली सिनेमा क्षेत्रका लागि अहिले हलमा दर्शक फर्काउनु नै चुनौती भइरहेको देख्छन् निर्देशक खनाल । उनी भन्छन्, ‘अब हामीले संकल्प गर्नुपर्छ, हाम्रो सिनेमाको कथामा आफ्नोपन हुनुपर्छ । नेपालमा साउथ इन्डियन फिल्म हाबी हुँदै गइरहेको छ । हिन्दी र हलिउडका फिल्मको अर्काे चुनौती छ । त्यसकारण हामीले हाम्रा दर्शकका लागि राम्रो बनाउनुबाहेक अर्काे विकल्प नै छैन ।’ 

निर्देशक दीपेन्द्र के खनालको भनाइमा निर्देशक दिनेश राउत पनि सहमत छन् । ०७९ साल नेपाली सिनेमा उद्योगका लागि सुखद रहन सक्ने उनको अनुमान छ । ‘०७९ साल नेपाली सिनेमाका लागि आशावादी हुने ठाउँ छ । किनभने गत वर्ष रिलिज हुन नपाएका धेरै चलचित्र पाइपलाइनमा छन् । यसकारण पनि यो वर्ष नेपाली सिनेमा उद्योगका लागि सुखद हुन सक्छ ।’

 नेपाली दर्शकलाई सिनेमाप्रति विश्वास दिलाउन नसक्नु चलचित्रकर्मीको पुरानै कमजोरी देख्छन् निर्देशक राउत । ‘हामीले हाम्रो कमजोरीलाई पत्ता लगाउन सकेनौँ, बजारलाई विस्तार गर्न सकेनौँ,’ उनी भन्छन्, ‘तर, विदेशी फिल्मका कारण हाम्रो सिनेमाले व्यापार गर्न सकेन भनिरहेका छौँ । हामी सिनेमा मेकरले सिनेमा मेकिङमै मिहिनेत गरेनौँ । हामी आफैँमा कमी कमजोरी स्वीकार गरिहेका छैनौँ ।

पहिला आफ्ना कमी–कमजोरी सुधारौँ
निर्देशक दिनेश राउत नेपाली चलचित्रकर्मीले आफ्ना समस्या सुधार गर्दै सिनेमा निर्माण गरे पुनः दर्शकलाई विश्वास दिलाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘विदेशी सिनेमाले नेपाली सिनेमालाई थिचोमिचो गर्‍यो भन्ने भन्दा हामीले हाम्रो सिनेमाको कथा र मेकिङमा सुधार गर्दै लैजाउनुपर्ने हुन्छ । अर्काे राज्यले पनि नेपाली सिनेमालाई प्राथमिकतामा राखेर नीति बनाउनुपर्छ । अनि मात्रै नेपाली सिनेमाले दर्शक रिझाउन सक्छ ।’

वितरक करण श्रेष्ठ ०७९ सालमा नेपाली चलचित्र उद्योगले नयाँ रूपरेखा कोर्ने अपेक्षा गर्छन् । तर, ०७८ सालमा रिलिज भएका नेपाली फिल्मले सुखद व्यापार नगरे पनि उद्योगलाई चलायमान बनाउने काम गरेको उनले बताए । उनी भन्छन्, ‘नेपाली दर्शकका लागि नेपाली चलचित्र रिलिज गरेर हलमा दर्शक आउने वातावरण बन्यो । कठपुतली, चपली हाइट–३, चिसो एस्ट्रे, म यस्तो गीत गाउँछु–२ ले दर्शकलाई हलसम्म फर्काउन मद्दत गरे ।’‘०७९ सालको सुरुवातमा ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्मको दबदबाबीच हल आउने आँट गर्‍यो । विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न नसके पनि हलमा नेपाली दर्शक फर्काउन कोसिस गर्‍यो,’ उनले भने । 

नेपाली चलचित्रसँगै विभिन्न विदेशी भाषाका चलचित्रको पनि प्रतिस्पर्धा बढ्दै गएको उनको ठम्याइ छ । यसका लागि नेपाली चलचित्रकर्मी र वितरक पनि एकआपसमा मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘कोरोना महामारी अझै सकिएको छैन । नेपाली चलचित्र उद्योगलाई चलायमान बनाउन सबै वितरक र चलचित्रकर्मी मिल्नुपर्छ । हामी आफैँ प्रतिस्पर्धा गर्ने समय होइन । नेपाली चलचित्र उद्योगको उत्थानका लागि हामी मिलेर अघि बढ्नुपर्छ । हामी वितरकले विदेशीसँग नेपाली फिल्म जुधाएर हुँदैन ।’

रिलिजको तयारीमा रहेका सिनेमा
-लक्का जवान, वैशाख २३ 
-कबड्डी–४, जेठ १३ 
-चिसो मान्छे, असार ३
-पानी फोटो, भदौ १०
-द सेक्रेट अफ राधा, भदौ २४
-प्रकाश 
-परस्त्री
-छक्कापन्जा–४