१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ फाल्गुण ३० बिहीबार ०६:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कलेजको लापरबाहीले विद्यार्थीको मृत्यु

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण ३० बिहीबार ०६:३४:००

राजधानीको थापाथलीस्थित द ब्रिटस कलेजमा अध्ययनरत सिरहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको मृत्यु कलेजको लापरबाहीका कारण भएको देखिएको प्रहरीले जनाएको छ । दुबईस्थित लमिर समुद्री किनारमा श्रेष्ठको मृत्यु भएको थियो । बिआइटी पहिलो सेमेस्टरमा अध्ययनरत श्रेष्ठ शैक्षिक भ्रमणका क्रममा २९ माघमा दुबई गएका थिए । उनीसँगै कलेजका अन्य २६ विद्यार्थी पनि गएका थिए । श्रेष्ठको समुद्रमा पौडी खेल्ने क्रममा २ फागुनमा मृत्यु भएको थियो । पौडी खेल्न समुद्र पुगेका विद्यार्थीलाई कलेजले आवश्यक नियन्त्रण गर्न नसक्दा श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी छ । 

घटना अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले श्रेष्ठको मृत्युमा कलेजले लापरबाही गरेजस्तो देखिएको बताए । उनले भने, ‘श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भएको देखिन्छ । पौडी खेल्न गएका विद्यार्थीलाई कलेजले जति गार्जेनसिप दिनुपर्ने थियो, त्यस्तो गरेजस्तो देखिन्न । भ्रमणमा लगेपछि विद्यार्थीको जिम्मेवारी सम्बन्धित कलेजले लिनुपर्छ , तर यो घटनामा कलेजले जति जिम्मेवारी लिनुपर्ने हो, त्यति लिएजस्तो देखिँदैन ।’

प्रहरीका अनुसार भ्रमणमा गएका विद्यार्थी दुबईस्थित होटेल द क्रिस्टल अपार्टमेन्टमा बसेका थिए । होटेलले नै व्यवस्था गरेको बस चढेर उनीहरू भ्रमणका लागि लमिर बिच पुगेका थिए । जसमध्ये केही विद्यार्थी समुद्रमा पौडी खेल्न निस्किए । जसमा मृतक श्रेष्ठ पनि थिए । उनी सहपाठी निशेष सुवेदीसँगै पौडी खेलिरहेका थिए । यही क्रममा सुवेदी श्रेष्ठको टाउजरलगायतका कपडा लिएर पार्क गरी राखेको बसमा फर्किए । बसमा अन्य विद्यार्थी र कलेजका कर्मचारी चढिसकेका थिए । तर, श्रेष्ठलाई नलिई बस होटेल फर्कियो । साँझसम्म पनि श्रेष्ठको खोजी भएन । यही क्रममा दुबई प्रहरीले कलेजका कर्मचारीलाई दुबईकै अल रसिद अस्पतालमा आउन अनुरोध गर्दै फोन ग¥यो । अस्पतालमा श्रेष्ठको शव भेटिएपछि कलेजका कर्मचारी झस्किए । 

मृतक श्रेष्ठका बुवा महेन्द्रले घटना सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । उनले भने, ‘छोराको मृत्यु भइसक्यो । अब ऊ फर्केर आउने होइन । हाम्रो माग के मात्रै हो भने घटनाको छानबिन होस् । प्रतिवेदन जस्तो आए पनि हामी स्वीकार गर्छौं । कलेजको गल्ती भेटिए सार्वजनिक रूपमा माफी मागे पुग्छ । त्यसबाहेक केही अपेक्षा छैन ।’

जिद्दीका कारण श्रेष्ठको मृत्यु : कलेज
थापाथलीस्थित द ब्रिटस कलेजले भने श्रेष्ठको मृत्यु उनकै जिद्दीपनका कारण समुद्रमा डुबेर भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै कलेजले भनेको छ, ‘भ्रमण कलेजको तर्फबाट अनिवार्य नभई इच्छुक विद्यार्थीहरूका लागि मात्र थियो । स्वयं विद्यार्थी गौरव श्रेष्ठ पनि अभिभावकको लिखित स्वीकृतिमा उक्त भ्रमणमा सहभागी भएका थिए । नेपाल छोड्नुअघि र दुबई घुम्नुअगाडि समुद्रमा पौडी खेल्न सख्त मनाही गरिएको थियोे । तर, कलेजको निर्देशन र नियमलाई अवज्ञा गर्दै पौडी खेल्दा उनको दुःखद निधन हुन पुग्यो । दुबई प्रहरीको रिपोर्टअनुसार गौरवलाई पानीमुनि डुबेको देख्नेबित्तिकै पानीबाट निकालेर प्राथमिक उपचार र सिपिआर पनि दिइएको थियो ।’