मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ बैशाख १८ आइतबार ०६:३५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनावी नियमले बाध्य पारेपछि व्यक्तिगत बेरुजु धमाधम फर्स्योट, चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै तिरे पाँच करोड

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ बैशाख १८ आइतबार ०६:३५:००

व्यक्तिगत बेरुजु फर्स्योट नगरेको पाइए उम्मेदवारी खारेज हुने भएपछि २२ वर्ष पुरानो बेरुजु पनि फर्स्योट

निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि पुनः निर्वाचनमा होमिएका र उम्मेदवारीमा आकांक्षा देखाएका जनप्रतिनिधिले धमाधम बेरुजु फर्स्योट गरेका छन् । चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फर्स्योट गरेका छन् । 

काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फर्स्योट गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । भरतपुर र वीरगन्ज महानगर तथा जितपुर–सिमरा, बुटवल, तुलसीपुर, धनगढी र हेटौँडा उपमहानगरका जनप्रतिनिधिको भने बेरुजु देखिएको छैन । अन्य केही नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिले पनि बेरुजु फर्स्योट गराएका छन्, तर कति रकम फर्स्योट  भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन । 

महालेखापरीक्षकको कार्यालयका अनुसार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले ७ र ८ वैशाखमा गरी एक करोड २७ लाख ४२ हजार बेरुजु फर्स्योट गरेका छन् । शाक्य मेयरमा पुनः दोहोरिने तयारीमा थिए । एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फर्स्योट गरेका थिए । तर, पछि पार्टीले केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

महानगरका पदाधिकारीले कानुनबमोजिम नमिल्ने सुविधा लिएको, असुलउपर गर्नुपर्नेलगायत अनियमितताका व्यक्तिगत बेरुजुबारे महालेखाले बर्सेनि प्रश्न उठाउँदै आएको छ । कानुन र प्रक्रियाबमोजिमका आवश्यक प्रमाण जुटाएर ल्याएपछि महालेखाले महानगरको आर्थिक वर्ष ०७६/७७ को बेरुजु फर्स्योट गरिदिएको हो । 

महालेखाका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलका अनुसार बेरुजु अंकबराबरको रकम राजस्व खातामा दाखिला गरेर त्यसको सक्कल भौचरसहितको प्रमाण पेस गरेपछि महालेखाले फर्स्योट गरिदिन्छ । बेरुजु भएका जनप्रतिनिधिलाई पुनः दोहोरिन निर्वाचन आयोगले रोकेपछि अहिले महालेखापरीक्षक कार्यालयले प्रमाण पु¥याएर आउने स्थानीय तहलाई कार्यालयबाटै फर्स्योट गर्ने गरी सहजीकरण गरिदिएको छ । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसहितका जनप्रतिनिधिले पनि आफ्नो नामको व्यक्तिगत बेरुजु फर्स्योट गरेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृतका अनुसार हालै महानगरले डेढ करोड बेरुजु फर्स्योट गरेको छ । उनका अनुसार एक साताअघि मात्र उक्त बेरुजु फर्स्योट भएको हो । 

पराजुली यसपटक पनि मेयरको आकांक्षी थिए । कांग्रेसको स्थानीय समितिले उनीसहितका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । रुष्ट बनेका पराजुलीले केही दिनअघि मेयरबाट पनि राजीनामा दिइसकेका छन् । 

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका जनप्रतिनिधिले पनि १७ लाख चार हजार व्यक्तिगत बेरुजु फर्स्योट गरेका छन् । महानगरले एक महिनाअघि १६ चैतमा बेरुजु फर्स्योट गरेको हो । निर्वाचन आयोगको व्यवस्थाअनुसार व्यक्तिगत बेरुजु फर्स्योट गर्नैपर्ने बाध्यताका कारण पनि महर्जनले आफूसहितकाको नामको व्यक्तिगत बेरुजु फर्स्योट गरेका हुन् । 

पोखरा महानगरपालिकाका जनप्रतिनिधिले पनि व्यक्तिगत बेरुजु फर्स्योट गरेका छन् । महानगरपालिका कार्यालयका अनुसार जनप्रतिनिधिले आफ्नो नामको कुल १६ लाख ३८ हजार नौ सय ५० रुपैयाँ व्यक्तिगत बेरुजु फर्स्योट गरेका हुन् । महानगरले पटक–पटक गरेर उक्त बेरुजु फर्स्योट गरेको हो । अन्तिमपटकको बेरुजु ११ वैशाखामा फर्स्योट गरिएको छ । पोखराकी उपमेयर मञ्जु गुरुङ यसपटक पनि उपमेयरकै उम्मेदवार छिन् । 

नेपालगन्ज महानगरपालिकाका जनप्रतिनिधिले ५५ लाख व्यक्तिगत बेरुजु फर्स्योट गरेका छन् । उक्त रकम उम्मेदवारी मनोनयनको अन्तिम घडी १० र ११ वैशाखमा फर्स्योट गरेका हुन् । त्यस्तै, जनकपुरधाम उपमहानगरका जनप्रतिनिधिले करिब ४७ लाख बेरुजु बुझाएका छन् । उपमहानगरका लेखा प्रमुख सुनील गुप्ताका अनुसार गत चैतमा नै जनप्रतिनिधिले ४६ लाख ८४ हजार सात सय ५३ रुपैयाँ व्यक्तिगत बेरुजु फर्स्योट गरेका हुन् । 

इटहरी र कलैया उपमहानगरका जनप्रतिनिधिले ३५–३५ लाख बुझाएका छन् । इटहरी उपमहानगरपालिकाका लेखा प्रमुख बाबुराम आचार्यका अनुसार मनोनयनको एक दिनअघि १० वैशाखमै १० लाखको हाराहारीमा जनप्रतिनिधिले बेरुजु मिलाएका थिए । त्यस्तै, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार ७ देखि ११ वैशाखसम्म गरी जनप्रतिनिधिले ३५ लाख बेरुजु फर्स्योट गरेका थिए । धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले सवा १६ लाख बेरुजु मनोनयनअघि नै फर्स्योट गरे । उपमहानगरका लेखा प्रमुख शैलेश शाक्यका अनुसार जनप्रतिनिधिको १६ लाख २९ हजार एक सय ७५ रुपैयाँ बेरुजु चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्ममा असुल भएको हो । 

अन्य स्थानीय तहबाट पनि जनप्रतिनिधिको  बेरुजु पनि फर्स्योटको प्रक्रियामा आइरहेको छ : नेत्रप्रसाद पौडेल, सहायक प्रवक्ता, महालेखापरीक्षकको कार्यालय 
व्यक्तिगत बेरुजु भएका जनप्रतिनिधिलाई पुनः दोहोरिन निर्वाचन आयोगले रोकेपछि अहिले त्यस्ता जनप्रतिनिधिले धमाधम फर्स्योट गरेका छन् ।

बेरुजु अंकबराबरको रकम राजस्व खातामा दाखिला गरेर त्यसको सक्कल भौचरसहितको प्रमाण पेस गरेपछि महालेखाले फर्स्योट गरिदिन्छ ।

चारवटा महानगरबाट मात्रै होइन, अन्य स्थानीय तह पनि राजस्व दाखिला गरेर बेरुजु फर्स्योटको प्रक्रियामा आइरहेका छन् ।

उम्मेदवारमा सिफारिस भएपछि काठमाडौंका मेयर शाक्यले गरे एक करोड २७ लाख बेरुजु फर्स्योट

महालेखापरीक्षकको कार्यालयका अनुसार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले ७ र ८ वैशाखमा गरी एक करोड २७ लाख ४२ हजार बेरुजु फर्स्योट गरेका छन् । शाक्य मेयरमा पुनः दोहोरिने तयारीमा थिए ।

एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजुफर्स्योट गरेका थिए । तर, पछि पार्टीले केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

धरान उपमहानगरको  मेयरका उम्मेदवार किशोर राईले  २२ वर्ष पुरानो पेस्की तिरे

धरान उपमहानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार किशोर राईले वडासदस्य हुँदा २२ वर्षअघि लिएको पेस्की यसपटक तिरेका छन् । उनी ०५४ को चुनावमा धरान– १२ को सदस्यमा निर्वाचित भएका थिए ।

पहिलोपटक ०५६ मा र त्यसपछि पटक–पटक गरी उनको नाममा धरान उपमहानगरमा एक लाख तीन हजार चार सय बेरुजु थियो । फर्स्योट गर्न पटक–पटक ताकेता गर्दा पनि उनले बेवास्ता गरेका थिए । तर, उम्मेदवार बन्ने पक्का भएपछि राईले ११ वैशाखमा ७९ हजार चार सय र भोलिपल्ट बाँकी २४ हजारफर्स्योट गरेका थिए । 

भरतपुर र वीरगन्जका मेयर तथा पाँच उपमहानगरका जनप्रतिनिधिको नाममा छैन बेरुजु

भरतपुरकी मेयर रेनु दाहाल र वीरगन्जका मेयर विजयकुमार सरावगी पुनः मेयरकै लागि चुनावी प्रतिस्पर्धामा छन् । तर, उनीहरूको नाममा भने व्यक्तिगत बेरुजु नरहेको सम्बन्धित महानगरले जनाएका छन् । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार मेयर दाहालसहितका जनप्रतिनिधिका नाममा व्यक्तिगत बेरुजु छैन । 

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले पनि मेयरसहितका जनप्रतिनिधिका नाममा व्यक्तिगत बेरुजु नभएको बताए । त्यस्तै, पाँच उपमहानगरका जनप्रतिनिधिको नाममा पनि बेरुजु देखिएको छैन । जितपुर–सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको नाममा बेरुजु नरहेको लेखा प्रमुख राजेन्द्र कार्कीले बताए । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती पनि जनप्रतिनिधिको व्यक्तिगत बेरुजु नभएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र हेटौँडा उपमहानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख मनोजकुमार सुवेदीले पनि सम्बन्धित उपमहानगरका जनप्रतिनिधिको व्यक्तिगत बेरुजु नरहेको बताए । घोराही उपमहानगरपालिकाको भने विवरण प्राप्त हुन सकेन । उपमहानगरका लेखा प्रमुख लोकमणि शर्मा भने जनप्रतिनिधिको व्यक्तिगत बेरुजु पुसअघि नै फर्स्योट भएको बताए ।