मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १७ शनिबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले निर्वाचन जित्नैपर्छ, उम्मेदवारको विषयमा पछि समीक्षा गरौँला : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
२०७९ बैशाख १७ शनिबार १७:४४:००

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी स्थानीय निर्वाचन एमालेले जित्नैपर्ने बताएका छन् । एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा घोषणा–पत्र सार्वजनिक कार्यक्रममा पोखरेलले सामान्य निर्वाचनको रूपमा मात्र नलिन आग्रह गरेका हुन् ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन । यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर एमाले र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन् । यो लडाइँ एमालेले जित्नुपर्छ ।’

एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको दाबी छ । एमालेका उम्मेदवारका विषयमा समीक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए ।

उनले गठबन्धन गर्दा देशभर माधव नेपालको पार्टी (एकीकृत समाजवादी)ले १०-१५ प्रतिशत सिट पनि नपाएको र माओवादीको हालत पनि उस्तै रहेको टिप्पणी गरे । उनले भने, ‘माधव नेपाल र पुष्पकमल दाहाललाई म सुझाब दिन चाहन्छु, कि कांग्रेस प्रवेश गर्नु नभए राजनीतिबाट सन्यास लिनुहोस् । यहाँभन्दा अर्को विकल्प तपाईंहरूसामु छैन ।’ 

पोखरेलले प्रचण्डमा दोधारे प्रवृत्ति देखाएको टिप्पणी पनि गरे । माओवादी केन्द्रले घोषणा-पत्रसमेत जारी गर्न नसकेको भन्दै उनले राष्ट्रिय राजनीतिलाई अलमल्याउने काम नगर्न आग्रह गरे । 

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतका मनमुटाव बिर्सेर एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।