Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ बैशाख १५ बिहीबार २२:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पल शाह प्रकरण : उच्चले माग्याे तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन

Read Time : > 1 मिनेट
२०७९ बैशाख १५ बिहीबार २२:१७:००

साधारण तारेखको माग गर्दै उच्च अदालत पोखरामा एक महिनाअघि निवेदन दिएका अभिनेता पल शाहको मुद्दासम्बन्धी तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन एकैपटक पेस गर्न उच्च अदालतले आदेश दिएको छ ।

गत १५ चैतमा शाहले साधारण तारेखको माग गर्दै पोखरास्थित उच्च अदालतमा निवेदन दिएका थिए । शाहले निवेदन दिएको भोलिपल्ट निवेदनउपर अदालतका भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन मगाउने आदेश दिएको थियो ।

त्यसको एक सातापछि अदालतले नवलपुरबाट समेत कैफियत प्रतिवेदन मगाउने आदेश दिएको थियो ।

आदेश दिएको ठीक एक महिनापछि बिहीबार तनहुँबाट आएको प्रतिवेदन न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको इजलासमा पेस गरिएकोमा इजलासले तनहुँ र नवलपुरको कैफियत प्रतिवेदन एकैसाथ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलका अनुसार तनहुँबाट मात्र प्रतिवेदन आएको र नवलपुरबाट आइनसकेकाले बिहीबारको इजलासमा तनहुँको प्रतिवेदन मात्र पेस गरिएको जानकारी दिए । अब नवलपुरबाट प्रतिवेदन आएपछि आदेशअनुसार दुवैलाई एकसाथ पेस गरिने जानकारी दिए ।

दुवै स्थानको कैफियत प्रतिवेदन आएपछि सरकार वकिल र शाहका कानुन व्यवसायीको पूर्ण बहसपछि तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामै राख्ने आदेश आउने उनले जानकारी दिए ।

सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटाे आश्वासन दिएर शाहले आफूलाई पटकपटक करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिगले ११ फागुनमा शाहविरुद्ध उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए ।

त्यसपछि अदालतमा भएको थुनछेक बहसपछि १० चैतमा तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । अदालतको आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन्।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले अदालतमा निवेदन दिएका थिए । थुनामा राख्न गरिएको तनहुँको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकाले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न निवेदनमा माग गरिएको छ ।

तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने आदेश गरेका थिए ।