मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १४ बुधबार ०६:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमएफको आशावादी प्रक्षेपण– आगामी वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि

चालू खाता घाटा पनि आगामी आर्थिक वर्षमा उल्लेख्य कमी आउने, यो वर्ष जिडिपीको ११ दशमलव ४ प्रतिशत पुगे पनि आगामी वर्ष ७ दशमलव ४ प्रतिशतमा झर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १४ बुधबार ०६:२५:००

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको अर्थतन्त्रसम्बन्धी अझै आशावादी प्रक्षेपण सार्वजनिक गरेको छ । आइएमएफको प्रकाशन ‘वल्र्ड इकोनोमिक आउटलुक’ले आगामी आर्थिक वर्ष ०७९/८० मा नेपालको आर्थिक वृद्धि ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यसअघि विश्व बैंकले हालै आगामी वर्ष मुलुकको आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत मात्रै हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । विश्व बैंकको प्रक्षेपणभन्दा आइएमएफको प्रक्षेपण निकै आशावादी देखिन्छ । 

आइएमएफले दीर्घकालीन रूपमा अर्थात् सन् २०२७ सम्म नेपालको आर्थिक वृद्धि ५ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण भने त्यति उत्साहप्रद छैन । चालू आर्थिक वर्षमा भने ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने आइएमएफको प्रक्षेपण छ । यो पनि विश्व बैंकले हालै सार्वजनिक गरेको तथ्यांकको तुलनामा बढी हो । विश्व बैंकले यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । युक्रेनमा भएको युद्धको प्रभावका कारण नेपालमा अपेक्षाभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकले जनाएको थियो । 

त्यस्तै, हाल निकै खराब अवस्थामा पुगेको नेपालको चालू खाता घाटा पनि आगामी आर्थिक वर्षदेखि सुधार हुँदै जाने प्रक्षेषण आइएमएफले जनाएको छ । चालू आर्थिक वर्षमा नेपालको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ११ दशमलव ४ प्रतिशतसम्म पुग्ने भए पनि आगामी आर्थिक वर्षमै त्यसमा सुधार आएर आगामी आर्थिक वर्षमै जिडिपीको ७ दशमलव ४ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको छ । सन् २०२७ मा पुग्दा चालू खाता घाटा जिडिपीको २ दशमलव ७ प्रतिशतमा झर्ने आइएमएफको प्रक्षेपण छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेललगायत अन्य धेरै वस्तुको मूल्य बढेपछि नेपालजस्ता मुलुकको चालू खाता घाटामा चाप परेको आइएमएफले जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भइसकेको तथा आगामी दिनमा पेट्रोलियमको साटो विद्युत् ऊर्जाको प्रयोग बढ्दै जाने कारण वस्तु आयातको वृद्धिदरमा कमी हुने र त्यसले मुलुकको चालू खाता घाटा कम गराउने विश्व बैंकले जनाएको थियो । ‘आगामी तीन वर्षमा थप चार हजार मेगावाट विद्युत् उत्पादन थपिने देखिन्छ, जिडिपीको अनुपातमा रेमिट्यान्सको हिस्सा स्थिर हुनेछ, त्यस्तै, पाम र सोयाबिन तेलका कारण नेपालको निर्यात पनि बढ्ने नै देखिन्छ,’ विश्व बैंकले भनेको थियो । 

चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सरकारले राखेको छ । तर, केन्द्रीय तथ्यांक विभागले यसअघि नै ५ दशमलव ११ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो । कात्तिक मसान्तसम्मको गतिविधि तथा आगामी दिनमा हुने आर्थिक क्रियाकलापका आधारमा विभागले यस्तो आकलन गरेको थियो । 
प्रतिवेदनले गत आव ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि २ दशमलव ७ प्रतिशत भएको जनाएको छ ।

तर, विश्व बैंकले भने गत आवमा १ दशमलव ८ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको जनाएको थियो । अघिल्लो आव ०७६/७७ मा आर्थिक वृद्धिदर माइनस २ दशमलव १ प्रतिशतले खुम्चिएको थियो । कोभिड–१९ का कारण इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धि भएपछिको अर्को वर्ष ०७७/७८ मा पनि अर्थतन्त्र पुनरुत्थान हुन सकेन । चालू आवमा झन् तरलता र विदेशी मुद्राको संकटका कारण नियन्त्रणकारी कदम चालिएका कारण आर्थिक वृद्धिमा असर पर्ने देखिएको हो । 

यो वर्ष सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको
यो वर्ष अर्थात् सन् २०२२ मा दक्षिण एसियाली क्षेत्रमा भारतले सबैभन्दा उच्च ८ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण आइएमएफको छ । त्यस्तै, बंगलादेशले ६ दशमलव ४, माल्दिभ्सले ६ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण आइएमएफको छ । त्यस्तै, भुटानले ४ दशमलव ४ र श्रीलंकाले २ दशमलव ६ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान आइएमएफको छ ।