मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १३ मंगलबार ०६:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विप्लव नेतृत्वको नेकपा पनि स्थानीय चुनावमा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १३ मंगलबार ०६:२७:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि स्थानीय निर्वाचनमा भाग लिएको छ । केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने विषयमा सहमति नबनेपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको छ । यद्यपि, एउटा समूहले भने चुनावमा भाग लिने विषयमा आपत्ति जनाएको छ । 

केन्द्रीय सदस्य अनिल शर्मा विरहीले देशैभरि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरिएको बताए । ‘देशैभरि उम्मेदवारी दर्ता भए पनि कति संख्यामा उम्मेदवारी दर्ता भयो भन्ने तथ्यांक उपलब्ध भइसकेको छैन, कहाँ–कहाँ दर्ता भयो भन्ने तथ्यांक आउन समय लाग्छ,’ उनले भने । 

उनका अनुसार इलाममा पाँचवटा गाउँपालिका र केही वडामा उम्मेदवारी दर्ता भएको छ । झापाको दमक, भद्रपुर, गौरादहलगायतका पालिकामा उम्मेदवार दर्ता गरेको उनको भनाइ छ । धनुषाको मिथिला र छिरेश्वर नगरपालिकामा पनि उम्मेदवारी दर्ता गरिएको छ । उदययुरको त्रियुगा नगरपालिकामा मोहन वैद्य नेतृत्वको माओवादीको उम्मेदवारलाई समर्थन गरिएको शर्माले जानकारी दिए ।

सर्लाहीमा बागमती नगरपालिकामा पनि उम्मेदवारी दिएको उनको भनाइ छ । ‘बागमती नगरपालिकामा सहिद कुमार पौडेलको श्रीमती धनकुमारी खड्कालाई उम्मेदवार बनाएका छौँ । रौतहटमा पनि हाम्रो उम्मेदवारी छ । मकवानपुरमा एउटा गाउँपालिका प्रमुख र तीनवटा वडामा हाम्रो उम्मेदवारी छ,’ शर्माले भने ।

चितवनको रत्ननगर नगरपालिकाको मेयरमा मीनप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको शर्माले बताए । त्यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा दुर्गा सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । चितवनकै माडी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गरिएको शर्माले बताए । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको शर्माले बताए । ‘नुवाकोट र धादिङका विभिन्न पालिकामा उम्मेदवारी दिएका छौँ,’ उनले भने । काठमाडौं महानगरपालिकामा पनि विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ ।