मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दमकस्थित कदम थिएटरको प्रांगणमा शिल्पी थिएटरले तयार पारेको नाटक ‘अलिकति उज्यालो’ प्रदर्शन गरिँदै । तस्बिर : नयाँ पत्रिका
२०७९ बैशाख १२ सोमबार ०९:१६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राजनीतिक बेथितिमाथिको प्रश्न : अलिकति उज्यालो

नेताले जनताका संवेदनशीलता कसरी बिर्सिंँदै छन् भन्ने नाटकले देखाएको छ सत्तामा पुगेपछि शासकले नागरिकका अभिमतलाई कसरी कुल्चिन्छ भन्ने उदाहरण हो

Read Time : > 3 मिनेट
२०७९ बैशाख १२ सोमबार ०९:१६:००

राजतन्त्र हट्यो । गणतन्त्र आयो । संघीयताको अभ्यास गरेको पनि पाँच वर्ष बित्नै लाग्यो । यस अवधिमा सबैभन्दा धेरै विकास केमा भयो ? उत्तर सहज छ, भ्युटावर बने। चोक–चोकमा सालिक ठडिए । तर, जनताको जीवनमा यसले के फरक भयो ?अहँ ! कुनै तात्विक भिन्नता भएन । विभेद कायमै छ । शिक्षा र स्वास्थ्यमा निजीकरण झन् बढ्यो । आधारभूत वस्तु अचाक्ली महँगिए । विपन्नका लागि गुणस्तरीय शिक्षा झन् टाढा भयो । किसानले समयमा मल पाएनन् । उत्पादन भएका कृषि उपजले बजार पाएनन् । मूल्य पाएनन् । जनताका यी तमाम दुःखले हामीले जिताएर पठाएका जन प्रतिनिधिलाई पटक्कै छुँदैन । यस्तै, राजनीतिक बेथितिमाथि प्रश्न उठाएको छ, नाटक ‘अलिकति उज्यालो’ले । 

शिल्पी थिएटरले तयार पारेको यो ‘मुक्त’ रंग मञ्च यतिवेला देश दौडाहामा छ । खासगरी मध्यपहाडी लोक मार्ग र त्यस आसपासमा नाटक देखाउँदै टोली दौडि रहेको छ । स्थानीय तह निर्वाचनको सम्मुखमा मञ्चन भइरहेको यो नाटकले हाम्रा जनप्रतिनिधिको आचरण र व्यवहारमा तिखो र चोटिलो व्यंग्य प्रहार गरेको छ । ३ वैैशाखमा रामेछापबाट सुरु भएको नाटकको पहिलो चरण इलाममा सम्पन्न भयो । दोस्रो चरण १८ वैैशाखमा विराटनगरबाट सुरु भई २८ वैैशाखमा बुटवल पुगेर सम्पन्न हुनेछ । शुक्रबार राति यो नाटक दमकमा प्रदर्शन भयो । कदम थिएटरले नाटक संयोजन गरेको थियो । ‘खुला ठाउँमा कसरी सिर्जनात्मक र स्वतन्त्र रंगकर्म गर्न सकिन्छ भन्ने एउटा अभ्यास हो, मुक्त रंगमञ्च । तीनतिर दर्शक राखेर मञ्चन गरिने यस किसिमको नाट्य प्रस्तुतिमा सजिलै खोल्न र जोड्न मिल्ने मञ्च निर्माणका सामग्री हुन्छन्,’ नाटक निर्देशक घिमिरे युवराज भन्छन्, ‘फलामका तीनवटा फ्रेममा कालो पर्दा राखेर कलाकारका लागि नेपथ्य तयार गरिन्छ ।’

एउटा नगरमा सालिक, गाणतन्त्र स्तम्भ, वाटर फाउन्टेनलगायत भौतिक संरचना बनेका छन् । यसको उद्घाटन नगरप्रमुख भीमले गर्ने कार्यक्रम छ । यो कार्यक्रममा गाउँले पनि आएका छन् । नगरप्रमुखले नमुना नगर भन्दै भाषण गरिरहँदा सहभागी गाउँलेले नगर प्रमुखसमक्ष आफ्ना समस्या राख्छन् । समयमा मल, बिउ र सिँचाइ नपाएको समस्या छ, कृषकको । गरिब नागरिकलाई स्तरीय स्वास्थ्य सेवाको चिन्ता छ । आफ्ना छोराछोरीलाई राम्रो विद्यालय पढाउन नपाएकोमा चिन्ता छ । निजी विद्यालय पढाऊँ चर्को शुल्क लाग्छ, सार्वजनिक विद्यालय पढाऔँ, पढाइ राम्रो छैन । नागरिकका यही गुनासाका बीच नगर प्रमुख भने नमुना नगर घोषणाको तयारीमा छन् । तर, नागरिकले विमति राखेपछि एउटा निर्णय हुन्छ– नगरका चारजना युवा भ्रमणमा निस्कने । उनीहरूले अरू नगर र गाउँ हेर्ने र उनीहरूकै सिफारिसमा नगर नमुना घोषणा गर्न उपयुक्त छ कि छैन ?

यात्राका लागि चयन भएका प्रतिनिधि अन्य नगर र गाउँ हेर्न निस्कन्छन् । यात्रामा उनीहरू एउटा यस्तो नगर पुग्छन्, त्यहीँ उनीहरूको यात्रा रोकिन्छ । त्यो नगरमा प्राकृतिमाथि दोहन भएको छैन । तालहरूमा सिमेन्ट लगाएर बिगारिएको छैन । रूखहरू आफ्नै लयमा छन् । कृषियोग्य जमिन प्लटिङ भएका छैनन् ।नागरिकहरू अग्र्यानिक खेतीमा लागेका छन् । किसानलाई नगरको सहयोग राम्रो छ । प्राकृतिक प्रकोपमा परेका किसानले क्षतिपूर्ति पाएका छन् । विभेदरहित गाउँ छ । सरकारी कार्यालयमा जनताको काम छिटो–छरितो हुन्छ । कर्मचारी र जनप्रतिनिधि नागरिकको सेवामै तल्लीन छन् । यही नगर देखेर युवाहरू फर्कन्छन् । उनीहरूले देखेको नमुना नगरबारे नगरप्रमुखलाई बताउन खोज्छन् । तर, नगरप्रमुख उनीहरूको कुरै सुन्दैनन् ।

नाटकमा राजनीतिक नेतृत्व कसरी विचारविहीन छ भन्ने देखाइएको छ । नाटककी एउटी पात्र हुन्– शोभा । उनी निष्ठाको राजनीति मन पराउँछिन् । राजनीति मुद्दा हो, पैसा होइन भन्ने प्रमाणित गर्न चाहन्छिन् । उनी अहिले नगरकी उपप्रमुख छिन् । यसपटकको निर्वाचनमा उनी प्रमुखकी दाबेदार हुन् । श्रीमान् जीवन निष्ठाले चुनाव नजितिने र गरिबलाई चुनाव जित्न मुस्किल पर्ने भन्दै श्रीमतीलाई चुनाव नउठ्न सुझाव दिन्छन् । तर, श्रीमती भने पैसाले नभई एजेन्डाले जित्ने अडान लिन्छिन् । उनका लागि सबैभन्दा ठूलो पार्टी हो । शोभा पार्टीले टिकट दिनेमा विश्वस्त छिन् । पार्टीले उम्मेदवार छनोट गर्ने बैठक राख्दैछ । घरायसी कामका कारण उनी बैठकमा केही ढिला पुग्छिन् । उनीपुग्दा फेरि पुरानै प्रमुख भीमलाई नै पार्टीका जिल्ला अध्यक्षले टिकट दिने घोषणा गरिसकेका हुन्छन् । पार्टीले जनताका आवाज र लोकतन्त्रलाई कसरी गिज्याइरहेको छ भन्ने नाटकले देखाउँछ । 

पार्टी सञ्चालनका लागि पैसा चाहिने र पैसा भीमले मात्रै दिनसक्ने भएकाले उनकै नाम घोषणा भएको हुन्छ । यो निर्णय सामु शोभाको केही लाग्दैन । पैसाको सामु शोभाको एजेन्डाको राजनीति निरीह बन्छ । शोभाका एजेन्डा मात्र निरीह भएका होइनन्, पैसासामु जनताका आवाज पनि निरीह हुन्छन् । नागरिकले महिला हिंसा, विभेदविरुद्ध, सुलभ स्वास्थ्य, शिक्षाका पक्षमा आन्दोलन पनि गर्छन् । तर, नगरप्रमुखले पैसाका बलमा उनीहरूको आवाज बन्द गर्छन् । भ्युटावर र सालिक शिलान्यासमा मस्त छन्, नगरप्रमुख ।

नाटकले नेताको चरित्रको पनि चित्रण गरेको छ । नाटकमा विशालले पार्टीको सच्चा कार्यकर्ताका रूपमा अभिनय गरेका छन् । तर, सच्चा कार्यकर्ता भएर मात्रै परिवार पाल्न नसक्ने भएपछि उनी बिदेसिन्छन् । चार महिनादेखि सम्पर्क विही नभएका श्रीमान्खोज्न विशालकी श्रीमतीनगर अध्यक्षलाई आग्रह गर्छिन् । तर,उनले त उनकै पार्टीका सच्चा कार्यकर्ता विशाललाई नै चिन्दैनन् । कार्यालयमा आएर निवेदन दिन भन्छन् । विशालकी गर्भवती श्रीमतीले निवेदन दिन नसक्ने बताइरहँदा पनि बेवास्ता गर्दै नगर प्रमुख बाहिरिन्छन् । त्यही वेलाउनलाई व्याथाले च्याप्छ । नेताले जनताका संवेदनशीलता कसरी बिर्सिंदै छन् भन्ने यो नाटकले देखाएको छ । सत्तामा पुगेपछि शासकले नागरिकका अभिमतलाई कसरी कुल्चिन्छ भन्ने उदाहरण हो यो नाटक । नाटकलाई संगीतले झनै कलात्मक बनाएको छ । 

अहिले ठीक समय हो भनेर नाटक तयार पारेँ
घिमिरे युवराज, नाटक लेखक तथा निर्देशक

देशमा रहेको राजनीतिक बेथितिविरुद्ध नाटक बनाउने सोच थियो । योचाहिँ ठीक समय हो भनेर नाटक तयार पारेँ । यो वेला खबरदारीका आवाज धेरै तिरबाट सुनिनुपर्छ । नाटक पनि ती आवाजमध्ये एक हो । जनप्रतिनिधिलाई अप्रत्यक्ष रूपमा कसरी जवाफदेही बनाउने भन्ने सोचेर नाटक बनाएकाहौँ । नाटकमा पवित्रा खड्का, संगीता उराँव, मनाहाङ लावती, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, सन्जित थुलुङ राई, सुशीला लुहार र अजय लामाको अभिनय छ ।