मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १० शनिबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने अमेरिकी सांसदहरूको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १० शनिबार १४:४६:००

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसद्प्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरे।

पूर्वाधार, पर्यटन, नवीकरणीय ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने अमेरिकी सांसदहरूले बताएका समूहका संयोजक डा. मीनेन्द्र रिजालले जानकारी दिए। अन्तर्क्रिया कार्यक्रममा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पु–याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको विपत् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका थिए।

‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाका लागि र नेपालको समावेशी विकासका लागि सहयोग पु–याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भए पनि त्यो सहयोग निरन्तर रूपमा रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, समूहका संयोजक डा. रिजालले भने, नेपालमा विपत् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पु–याएको सहयोगका बारेमा कुरा गरियो। र, उहाँहरूले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।’

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गरेका हुन्। टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।