मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १० शनिबार १३:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले काठमाडौं महानगरको प्रतिबद्धतापत्र तीन भाषामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १० शनिबार १३:०८:००

नेकपा (एमाले)ले काठमाडौं महानगरको चुनावी प्रतिबद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। एमाले महानगर कमिटीले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

प्रतिबद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा तयार गरिएको महानगर कमिटीले जानकारी दिएको छ। नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धतापत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकाले एमाले काठमाडौं महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिबद्धतापत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले बताए।

एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिबद्धतापत्रमा जम्मा १०८ बुँदा छन्। यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहाेरमैला व्यवस्थापनजस्ता विषयकेन्द्रित बुँदा रहेका छन्। १०८ बुँदाको प्रतिवद्धतापत्रमा एमाले नेतृत्वका जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिको तर्जुमा, सडक तथा ढलको नियमित मर्मत–सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरूको जगेर्नाजस्ता कार्य अघि बढेको उल्लेख छ।

प्रतिवद्धतापत्रमा ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरूलाई दिँदै आएको वार्षिक १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पु–याउने उल्लेख छ। ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीप वृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धतापत्रमा भनिएको छ, 'युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धीयुवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’

महानगरको सूचना नियमित र प्रभावकारी सम्प्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिबद्धतापत्रमा समावेश गरिएको छ। लैंगिक समानताकोे आधारः छोरी–बुहारीलाई रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यताअनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिबद्धतापत्रमा प्राथमिकतामा राखिएको छ। बढी भिडभाड हुने सार्वजनिक स्थलमा आवश्यकताअनुसार सुविधासम्पन्न र वातावरणमैत्री ६० वटा आधुनिक सार्वजनिक शौचालयहरूको निर्माण गर्ने, सरकारी वा सामुदायिक अस्पतालहरूसँगको सहकार्यमा कम्तीमा ५० शय्याको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याउनेलगायतका कुरा प्रतिबद्धतापत्रमा उल्लेख छ।