Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तीन वर्षपछि शुक्रबार बसेको राखेपको बोर्ड बैठक । तस्बिर सौजन्य राखेप
२०७९ बैशाख १० शनिबार ०७:४१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तीन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक : नेपालले १९औँ एसियाडमा  २३ खेलमा प्रतिस्पर्धा गर्ने

Read Time : > 2 मिनेट
२०७९ बैशाख १० शनिबार ०७:४१:००

नेपालले चीनको हान्झाउ सहरमा सेप्टेम्बर महिनामा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा २३ खेलमा सहभागिता जनाउने भएको छ । एसियाड भदौ २५ देखि असोज ९ सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुद (राखेप)को ०७५ सालपछि शुक्रबार पहिलोपटक बोर्ड बैठक बसेको हो । बोर्ड बैठकले एसियाडमा नेपालको सहभागिता र खेल संख्याको निर्णय गरेको हो । 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ कार्यान्वयनमा आएपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । चार वर्षअघि इन्डोनेसियाको जाकार्तामा सम्पन्न १८औँ एसियाडमा नेपालले ऐतिहासिक रूपमा रजत पदक जितेको थियो । प्याराग्लाइडिङमा नेपालले रजत पदक हात पारेको हो । सन् १९९८ को बैंकक एसियाडपछि नेपालले दोस्रोपटक रजत जितेको नै जाकार्तामा थियो । चार वर्षअघिको एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएको थियो । 

नवौँ राष्ट्रिय प्रतियोगितामा ३८ खेल
खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा बसेको बोर्ड बैठकले एसियाडसँगै २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको पनि खेल संख्या निर्णय गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरूले ३८ खेलमा प्रतिस्पर्धा गर्नेछन् । आठौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिँदै रग्बी सेभेन ए साइड थपिएको छ । प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ रहेका छन् ।

खेलाडी र पछिल्लो समयमा प्राप्त नतिजाकै आधारमा हान्झाउ एसियाडमा नेपालले खेल्ने खेलको तय गरिएको मन्त्री गहतराजले बताएका छन् । बैठकले एसियाडमा खेलमा भाग लिने खेलका खेलाडीको छनोट, बन्द प्रशिक्षण तथा आवश्यक बजेट र तयारीका सम्बन्धमा समेत प्रक्रिया अघि बढाउने निर्णय भएको छ । 

राखेपको बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक लोगो, मस्कट र नारा तय गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यसैगरी, प्रतियोगिता मूल आयोजक कमिटी, कार्यकारी समिति, उपसमिति तथा सचिवालय गठन गर्ने निर्णयसमेत पारित भएको छ । 

अहिलेसम्म एसियाडमा दुई रजत र २२ कांस्य
जाकार्ता एसियाडमा पदक आशा गरिएका खेलहरूमा खेलाडीले निराशाजनक प्रदर्शन गरेपछि प्याराग्लाइडिङले ऐतिहासिक सफलता दिलाएको थियो । नेपालले सन् १९५१ देखि निरन्तर रूपमा एसियाडमा सहभागिता जनाउँदै आइरहेको छ । नेपालले अहिलेसम्म एसियाडमा दुई रजत तथा २२ कांस्य पदक जितेको छ । एसियाडमा ब्याक टू ब्याक कांस्य जित्ने एक मात्र खेलाडी तेक्वान्दोका दीपक विष्ट हुन् । दीपकले २००२ को बुसान तथा २००६ को दोहा एसियाडमा नेपाललाई लगातार कांस्य पदक दिलाएका थिए । नेपालले बुसानमा ३२ तथा दोहा एसियाडमा सर्वाधिक ३५ खेलमा सहभागिता जनाएको थियो । 

६८ सय खेलाडी
राखेपका सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेलमा लगभग ६ हजार आठ सय खेलाडी सहभागी हुने बताएका छन् । त्यसैगरी, एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक र एक सय १४ संघका प्रतिनिधि प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि एक हजार निर्णायक सहभागी हुने जानकारी उनले दिए । त्यसैगरी, हाङझाउमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले २३ खेलमा एक सय ५० खेलाडीका साथ भाग लिनेछ । एसियाडमा २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुने सदस्यसचिव घिसिङले बताए । 

नवौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने खेल
फुटबल, एथ्लेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबल टेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ,  भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्यान्डबल, बुद्धिचाल, सफ्ट टेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्यास्टिक, शारीरिक सुगठन, फुल कन्ट्याक्ट कराते, हकी, रग्बी ।

एसियाडमा भाग लिने खेल
एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी, सुटिङ ।