१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ७ बुधबार १५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिजुली नभएपछि मोबाइल बालेर बिरामीको उपचार 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ७ बुधबार १५:५१:००

डोल्पा जिल्ला अस्पतालमा एक महिनादेखि विद्युत् आपूर्ति बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरण डोल्पा शाखा दुनै वितरण केन्द्रले अस्पतालका लागि दिँदै आएकाे छुट्टै लाइन काटेपछि अस्पतालमा विद्युत् आपूर्ति बन्द भएको हो।अस्पतालजस्तो संवेदनशील ठाउँमा विद्युत् नभएपछि जिल्लाका विकट ग्रामीण गाउँबस्तीबाट उपचारको आसमा अस्पताल पुग्ने बिरामीको नियमित उपचारमा समस्या भएको छ।

अस्पतालका चिकित्सकहरू रातिको समयमा आफ्नो मोबाइल बालेर बिरामीको उपचार गर्न बाध्य भएका छन्। बत्ती नभएकै कारण रातिको समयमा प्रत्येक बिरामीको बेडमा पुगेर स्वास्थ्य जाँच, औषधि वितरणलगायतको काम गर्न निकै समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ। एक महिनादेखि विद्युत् आपूर्ति बन्द हुँदा स्वास्थ्यकर्मी र बिरामीका समेत मोबाइल बालेर उपचार गराउन बाध्य भएको डाक्टर अखण्ड उपाध्ययाले बताए।

‘दिउँसो जेनतेन भएका सोलारले धान्छ,आफ्नै पालोमा पनि विद्युत् नपाउँदा रातिको समयमा एक्स–रे, युएसजी मेसिनलगायतका उपकरण सञ्चालन गर्न असम्भव छ, बिरामीको विभिन्न टेस्ट गर्नुपरेमा भोलि दिउँसो घाम लागुञ्जेल बिरामी होल्डमा राख्नुपर्छ,’ उनले भने।

अस्पतालमा नियमित विद्युतको आपूर्तिका लागि जिल्ला प्रशासन, विद्युत् प्राधिकरणलगायतका विभिन्न निकायमा धाएपछि सुनुवाइ नभएको उनले बताए। अप्रेसन नै गर्नुपर्ने बिरामीको उपचार जेनेरेटर प्रयोग गरेर गर्ने गरे तापनि अन्य केसहरूमा मोबाइलको धिपधिपे उज्यालोको भर पर्नुपरेको उनको भनाइ छ।

अस्पताल अन्धकारमय हुँदा अक्सिजन लगाउनुपर्ने बिरामीलाई अझ समस्या भएको छ भने रातिको समयमा बिरामी र कुरुवालाई भित्र–बाहिर गर्न पनि डर लाग्ने गरेको बिरामीको गुनासो छ। डोल्पा अस्पतालमा रातिको समयमा अन्धकार हुँदा समस्या भएको त्रिपुरासुन्दरी– १ का स्थानीय रणवीर नेपालीले बताए।

स्वास्थ्यकर्मीहरूको सेवा राम्रो भए पनि बत्तीकै कारण उपचारमा समस्या हुने गरेको पाइएको उनको भनाइ छ। जैरीगार्ड जलविद्युतसँग भएका दुईवटा मेसिनमध्ये एउटाले काम नगरेपछि आलोपालो गर्दा अस्पतालमा बत्ती नियमित गर्न समस्या भएको दुनै वितरण केन्द्रले जनाएको छ।