मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार ०६:२५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२५ वर्षसम्म कौडीको भाउमा दिइएको भृकुटीमण्डपको २५ रोपनीका लागि न्यूनतम आठ लाखमा टेन्डर खुल्यो

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार ०६:२५:००

तर, आडैको फनपार्कलाई ६० रोपनी अझै ६ लाखमै

बाल उद्यानको २५ रोपनी भाडामा लगाउन न्यूनतम आठ लाखमा टेन्डर खुल्दा आडैमा रहेको काठमाडौं फनपार्कले भने ६ लाख १० हजार पाँच सयमै ६० रोपनी भोगचलन गरिरहेको छ । गैरकानुनी सम्झौता भएको भन्दै यसमा संलग्न तत्कालीन महिला, बालबालिकामन्त्री र पूर्वराज्यमन्त्रीसहित १४ विरुद्ध मुद्दा दायर भइसक्दा पनि फनपार्क निर्वाध सञ्चालनमा छ । 

समाज कल्याण परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित बाल उद्यानको २५ रोपनी जग्गा भाडामा दिन बोलपत्र आह्वान गरेको छ । यसअघि नगन्य भाडा बुझाएर व्यापारिक गतिविधि गरिरहेको ल्याम्ह पुचः बाल उद्यानको सम्झौता अवधि सकिएपछि परिषद्ले नयाँ टेन्डर खुलाएको हो । परिषद्ले मासिक आठ लाख ६ हजार ६ सय ६७ रुपैयाँ न्यूनतम भाडा निर्धारण गरेर आइतबार टेन्डर सूचना जारी गरेको छ । 

१५ पुस ०५३ मा सम्झौता गरेको ल्याम्ह पुचःले २५ रोपनी जग्गा २५ वर्षसम्म कौडीको भाउमा भोगचलन गरेको थियो । सम्झौता रद्द भएको समय अर्थात् १४ पुस ०७८ सम्म पनि मासिक भाडा १४ हजार ६ सय २६ रुपैयाँ मात्रै बुझाउँथ्यो । यो दरमा प्रतिरोपनीको भाडा पाँच सय ८५ रुपैयाँ मात्रै हुन आउँछ । सरकारी जग्गामा भएको ब्रह्मलुटबारे नयाँ पत्रिकाले पटक–पटक समाचार प्रकाशित गरेको थियो । यही जग्गा परिषद्ले दररेट बढाएर पुनः भाडामा लगाउन टेन्डर आह्वान गरेको हो । 

परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार उक्त जग्गा पहिलोपटक प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने गरी टेन्डर आह्वान गरिएको हो । २५ रोपनीमा बाल उद्यान तथा मनोरञ्जनात्मक कार्य सञ्चालन गर्ने गरी नै परिषद्ले टेन्डर खोलेको छ । टेन्डर हाल्नेले बोलपत्र जमानतबापत १६ लाख ४० हजार बुझाउनुपर्ने सूचनामा उल्लेख छ । ४५ दिनको अवधि निर्धारण गरेर आगामी १८ जेठमा बोलपत्र खोलिने परिषद्ले जनाएको छ । परिषद्का अनुसार जग्गा पाँच वर्षका लागि भाडामा दिन लागिएको हो । 

तर, बाल उद्यानको २५ रोपनी भाडामा लगाउन न्यूनतम आठ लाखमा टेन्डर खुल्दा आडैमा रहेको काठमाडौं फनपार्कले भने ६ लाख १० हजार पाँच सयमै ६० रोपनी भोगचलन गरिरहेको छ । गैरकानुनी सम्झौता भएको भन्दै यसमा संलग्न तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री र पूर्वराज्यमन्त्रीसहित १४ विरुद्ध मुद्दा दायर भइसक्दा पनि फनपार्क निर्वाध सञ्चालनमा छ । 

रोपनीको १० हजार एक सय ७५ मात्रै भाडामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्कबाट मनग्य आम्दानी गरिरहेका छन् । गुरुङको फनपार्कले १ असोज ०६९ मा १५ वर्षका लागि परिषद्सँग सम्झौता गर्दा ६० रोपनीको मासिक पाँच लाख ५५ हजार भाडा कायम गरिएको थियो । पहिलो पाँच वर्षमा १० प्रतिशतले वृद्धि गर्ने सम्झौताको स्पिरिटअनुसार १ असोज ०७५ मा मासिक ६ लाख १० हजार पाँच सय भाडा कायम भएको हो । दोस्रो पाँच वर्षमा १५ प्रतिशतले भाडा थप्ने गरी फनपार्कले उक्त जग्गा ०८४ सम्म भोगचलन गर्न परिषद्सँग सम्झौता गरेको छ । 

१५ वर्षपछि बढ्यो छाप्राको भाडा 
समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्रै सञ्चालनमा रहेका व्यावसायिक स्टल, बुथ र छाप्राहरूको भाडा भने १५ वर्षपछि बढाएको छ । भाडा बढाउने सम्बन्धमा गत फागुनमा समिति गठन गरेर त्यसको सिफारिसका आधारमा वृद्धि गरिएको सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए । भाडा वृद्धि १ वैशाखदेखि लागू भएको छ । परिषद्ले ३१ रोपनी क्षेत्रमा प्लास्टिकको छाना लगाएर २४ मंसिर ०६३ देखि भाडामा लगाउन थालेको थियो ।

त्यहाँ एक हजार तीन सय पसल छन् । सुरुमा प्रतिवर्गफिट १० रुपैयाँका दरले तोकिएको भाडा पछिल्लो सयम १४ रुपैयाँ ६४ पैसा थियो । नयाँ निर्णयअनुसार अब प्रतिवर्गफिट मासिक ८६ रुपैयाँ कायम गरिएको सूचना अधिकारी भट्टराईले बताए । ‘यी छाप्राबाट यसअघि मासिक करिब ६ लाख उठ्थ्यो, अब करिब ३५ लाख थपिएर ४१ लाखजति उठ्छ,’ उनले भने । त्यस्तै, एक सय १७ स्टल, बुथ र घुम्तीहरूको भाडा पनि वृद्धि गरिएको छ । पक्की स्टल र बुथको भाडा यसअघि मासिक ३६ रुपैयाँ प्रतिवर्गफिट भएकामा ९५ रुपैयाँ पुर्‍याइएको छ । ‘वर्षौँदेखि न्यून भाडा तिरिरहेकाहरूको भाडा वृद्धि गरिएको छ । यसले परिषद्को आम्दानी बढाएको छ । अब प्रतिस्पर्धा गराएर मात्रै भाडामा लगाइन्छ,’ भट्टराईले भने ।