१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १६:०३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुख्य प्रशिक्षक अल्मुताइरी भन्छन्– एसियन कपमा नेपाल छनोट हुन सक्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २ शुक्रबार १६:०३:००

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अभ्यास थालनी भए पनि जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन्। शुक्रबार अभ्यासपछि पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले सपना ठूलो देखे पनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए। यद्यपि, छनोटमा राम्रो गर्ने प्रयास गर्ने उनले बताए।

नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै अल्मुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि भने योग्य नभएको बताए। नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यावसायिक खेलाडी भएको र उनीहरू युरोपबाट खेल्ने गरेको भन्दै उनले नेपाली टोलीमा अनुभवी र व्यावसायिक खेलाडी नभएको औँल्याए।

नेपाली टोलीले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो। छनोट प्रतियाेगिताका लागि समूह ‘ए’मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग खेल्नेछ। अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ। त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। यद्यपि, कुन टोलीसँग हुने भन्ने तय भएको छैन।