मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार ०८:०३:००
Read Time : > 1 मिनेट
पन्ध्रौं वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

बंगलादेश : गार्मेन्ट निर्यातबाटै  तीव्र आर्थिक विकास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २ शुक्रबार ०८:०३:००

सन् १९७१ को रक्तपातपूर्ण मुक्ति संग्रामपछि स्वतन्त्र भएको बंगलादेशलाई त्यसवेला अमेरिकाका विदेशमन्त्री हेनरी किसिन्जरले दिएको ‘बास्केट केस’को संज्ञा निकै प्रचलित भयो । बास्केट केसको अर्थ गम्भीर आर्थिक चुनौतीयुक्त मुलुक वा धेरै सहायता आवश्यक रहेको मुलुक भन्ने हुन्छ । त्यसवेला बंगलादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धि १४ प्रतिशतसम्म ऋणात्मक थियो । त्यसमाथि यो देश इतिहासदेखि नै बाढी/आँधी प्रभावित क्षेत्रमा पर्छ । 

पछिल्लो सात वर्षमा बंगलादेशको गार्मेन्ट उद्योगमा ७९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस अवधिमा गार्मेन्ट क्षेत्रको वार्षिक आय १९ अर्ब डलरबाट बढेर ३४ अर्ब डलर पुगेको छ । 

तर, ५० वर्षको अवधिमा स्थिति धेरै बदलियो । स्वतन्त्रतादेखि नै सामाजिक सुधारको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बंगलादेशले गत दशकमा आर्थिक वृद्धिमा पनि उल्लेख्य उपलब्धि कायम गरेको छ । यो अवधिमा ऊ विश्वमै सबैभन्दा तीव्र गतिमा अर्थिक वृद्धिदर भएका मुलुकमध्ये एक रह्यो । कोभिड– १९ महामारीले केही असर गरेको भए पनि उसको उच्च आर्थिक वृद्धि केही वर्ष अझै कायम रहने प्रक्षेपण छ । 

उच्च आर्थिक वृद्धिका अतिरिक्त बंगलादेशले जनसंख्या नियन्त्रणमा पाएको सफलताले पनि देशको प्रतिव्यक्ति आय उल्लेख्य उकासेको छ । यही प्रगतिको बलमा बंगलादेश सन् २०२४ मा अति कम विकसित मुलुकको वर्गीकरणबाट बाहिरिँदै छ । बंगलादेशको उच्च आर्थिक वृद्धिमा देशको गार्मेन्ट उद्योगको महत्वपूर्ण योगदान छ । एउटै क्षेत्रको बलमा पनि कुनै मुलुकले तीव्र आर्थिक वृद्धिदर हासिल गर्न सक्छ भन्ने उदाहरण भएको छ बंगलादेश । बंगलादेशले गार्मेन्ट निकासीको व्यापार सन् १९७० को दशकबाट सुरु गरेको हो ।

पछिल्लो सात वर्षमा बंगलादेशको गार्मेन्ट उद्योगमा ७९ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस अवधिमा गार्मेन्ट क्षेत्रको वार्षिक आय १९ अर्ब डलरबाट बढेर ३४ अर्ब डलर पुगेको छ । गार्मेन्ट उद्योगले ४४ लाखभन्दा धेरैलाई रोजगारी दिएको छ । यो मुलुकको कुल निर्यातको ८० प्रतिशत यसै क्षेत्रले ओगट्छ । जिडिपीमा ११ प्रतिशतभन्दा बढी योगदान गार्मेन्ट उद्योगको छ । यसबाहेक फर्मास्युटिकल उद्योग, लघुवित्त, आइटी उद्योगमा पनि बंगलादेशको सफलता उत्साहजनक छ । बंगलादेशको जारी आर्थिक वृद्धिमा यसको पनि महत्वपूर्ण योगदान छ । आइटी क्षेत्रबाट पनि बंगलादेशले बर्सेनि एक अर्ब डलर भित्र्याउँछ ।

सन् २०१२ र २०१३ मा बंगलादेशका दुई ठूला गार्मेन्ट उद्योगमा आगलागीको घटना हुँदा १२ सय कामदारको जलेर मृत्यु भएको थियो । त्यसलगत्तै थुप्रै विश्वस्तरीय ब्रान्डले बंगलादेशका गार्मेन्ट उद्योगसँगको सम्झौता रद्द गरे । यो उद्योग संकटमा पर्ने आकलन गरियो । तर, त्यसयता बंगलादेशले कामदारको ज्याला, सुरक्षालगायतमा पनि उल्लेख्य सुधार गर्दै गार्मेन्टमा विश्वको दोस्रो ठूलो निर्यातक बनेको छ ।