राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरूले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको आरोप लगाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।
ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक-अर्काको सहयोगी बनिरहेको भन्दै उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको बताए।
‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा जे मुद्दा उठाइराखेको छ, त्यो कुनै एउटा पार्टीको मुद्दा मात्रै होइन। एउटा पार्टीको कुरा मात्रै होइन, देशको कुरा हो। देशको मुद्दा हो किनभने देश पूर्ण रूपले एउटा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भो। देश हरेक दृष्टिकोणले एउटा असफल राष्ट्रको बाटोतर्फ जान लाग्यो। देशलाई असफल राष्ट्र बन्नबाट जोगाउनका लागि खासगरी ठूला राजनीतिक पार्टीहरूले र ठूलो नेता हुँ भन्नेहरूले पहल गर्नुपर्थ्यो, प्रयास गर्नुपर्थ्यो तर देशलाई असफल राष्ट्रको बाटोतर्फ धकेल्नमा तिनै ठूला पार्टी हुँ भन्नेहरू र तिनै ठूला नेता हुँ भन्नेहरू नै संलग्न भएर उनीहरू नै यसको जिम्मेवार मान्छे र जिम्मेवार पार्टीको रूपमा देखा पर्न थाले। उनीहरू यथास्थितिमा रमाउन थाले मात्रै होइन । देशलाई असफल राष्ट्र बनाउने काममा उनीहरू एक–अर्काको सहयोगी जस्तो बन्न थाले,’ उनले भने।