मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १ बिहीबार ०८:०१:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२०७८ को खेलकुद : फुटबल र क्रिकेट सक्रिय भएको वर्ष

Read Time : > 4 मिनेट
२०७९ बैशाख १ बिहीबार ०८:०१:००

गत वर्ष (०७८) कोरोना महामारीसँगसँगै नेपाली खेलकुदसमेत चलायमान बन्यो । नेपाली खेलाडीले टोकियो ओलम्पिकदेखि विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाए । फुटबल र क्रिकेट क्षेत्रमा केही विवाद देखिए पनि समग्रमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । खेलकुदको प्रमुख निकाय राष्ट्रिय खेलकुद परिषद्मा सदस्यसचिव नियुक्तिको विषय सर्वोच्च अदालतसम्म पुग्दा करिब तीन महिना राखेप नेतृत्वविहीन बन्यो ।

सदस्यसचिवविहीन हुँदा राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयन, नवौँ राष्ट्रिय खेलकुद आयोजना र १९औँ एसियाली खेलकुद तयारी निर्धारित समयमै हुन सकेन । 
ब्याडमिन्टनका प्रिन्स दाहाल उमेर समूहमा विश्वकै एक नम्बर खेलाडी बने भने क्रिकेटमा जारी आन्तरिक विवाद टुंगियो । यस्तै, अखिल नेपाल फुटबल संघको आरोप–प्रत्यारोपले केही समय चर्चा पायो भने नेपाली खेलकुदमा महत्वपूर्ण योगदान दिएका केही व्यक्तित्वले संसारबाट बिदा लिए । समग्रमा ०७८ सालको खेलकुदलाई यसरी हेरौँ : 

टोकियो र ओलम्पिक
अन्तर्राष्ट्रिय खेलकुदमा गत वर्षको सबैभन्दा ठूलो प्रतियोगिता टोकियो ओलम्पिक थियो । जापानले कोरोना महामारीबीच दर्शकरहित ओलम्पिक आयोजना ग¥यो । जापानले आलोचना पनि खेप्नुपर्‍यो । ग्रीष्मकालीन यो ओलम्पिकमा नेपालले पनि सहभागिता जनाएको थियो । नेपालबाट टोकियो ओलम्पिकमा पौडीकी गौरिका सिंह, अलेजक्यान्दर शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र धाविका सरस्वती चौधरीले प्रतिस्पर्धा गरे । 

नेपालका सबै खेलाडी स्पर्धाको पहिलो चरणबाटै बाहिरिए । पौडीकी गौरिका, अलेजक्यान्दर शाह र सुटिङकी कल्पनाले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाए । एथलेटिक्सकी सरस्वती हिट चरणको पुछारबाट दोस्रो स्थानमा रहिन् । जुडोकी सोनिया भट्ट पहिलो भिडन्तमा एक मिनेट १६ सकेन्ड मात्र रिङमा उभिइन् । टोकियो ओलम्पिकमा खेलाडीभन्दा अफिसियल धेरै भएको भन्दै आलोचना पनि भयो । 

टोकियो ओलम्पिक सकिएको दुई सातापछि पाराओलम्पिक आयोजना भएको थियो । टोकियो पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई खेल जित्दै इतिहास बनाइन् । पाराओलम्पिकमा जित हात पार्ने पलेशा पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

साफ फुटबलमा पहिलोपटक फाइनलमा
महामारीबीच खेलाडीलाई व्यस्त बनाएको अर्को खेल फुटबल हो । फुटबलका खेलाडीले सहिद स्मारक लिग, मोफसलको गोल्डकपदेखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता एकपछि अर्को गर्दै खेले । गत वर्ष नै फुटबलमा पनि फ्रेन्चाइज लिगका आधारमा नेपाल सुपर लिग आयोजना भयो । गत वर्ष सबैभन्दा ठूलो सफलता भनेकै नेपाली राष्ट्रिय पुरुष टोली पहिलोपटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनल पुग्नु हो ।

माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले इतिहास रचे पनि फाइनलमा भारतसँग ३–० ले पराजित भयो । कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अचानक सामाजिक सञ्जालबाट राजीनामा दिँदा सनसनी नै मच्चिएको थियो । एन्फाका पदाधिकारीका कारण काम गर्न असजिलो भएको जनाउँदै अलमुताइरीले राजीनामा दिएका थिए । एन्फासँगको वार्तापछि उनले जिम्मेवारीमा पुनः निरन्तरता दिए । 

अलमुताइरीकै प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय फुटबलमा एसियाकै पावर हाउस इराकजस्तो बलियो टोलीविरुद्ध दुई गोल गर्न सफल भयो । विश्वकप तथा एएफसी छनोटमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्‍यो । नेपाल एएफसी कपको तेस्रो चरणमा पुगेको छ । गत वर्ष भएका मैत्रीपूर्ण खेलमा युवा खेलाडीले अवसर पाए । घरेलु मैदान दशरथ रंगशालामा नेपालले दुई मैत्रीपूर्ण खेलमा भारतलाई पहिलो खेल बराबरीमा रोक्यो भने अर्को खेलमा नेपाल २–१ ले हार्‍यो ।

यसैगरी, नेपाल र अफ्रिकी देश मोरिससबीचको दुई मैत्रीपूर्ण खेलमा नेपालले जित निकाल्यो । यसैगरी थाइल्यान्डमा सम्पन्न मैत्रीपूर्ण दुवै खेलमा नेपालले निराश व्यहोर्‍यो । एएफसी यू–२३ एसियन कप छनोटमा भने नेपाली यू–२३ टोली इरान, ताजकिस्तान र लेबनानसँग नराम्रोसँग पराजित भयो । गत वर्ष महिला फुटबलले पनि मैत्रीपूर्ण खेलको अवसर पायो । नेपाली टोलीले बंगलादेशलाई दुई खेलमा हरायो । 

एएफसी महिला एसिया कप २०२२ को छनोटमा नेपाल फिलिपिन्ससँग २–१ र हङकङसँग गोलरहित बराबरीमा रोकियो । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटान र श्रीलंकाविरुद्ध जित निकाल्यो । तर, अन्तिम लिग खेलमा भारतसँग स्तब्ध हुँदा नेपाल फाइनलमा पुग्न सकेन । घरेलु फुटबलको सबैभन्दा प्रमुख मानिएको ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले उपाधि रक्षा गर्‍यो । मोफसलका गोल्डकपमा भने मच्छिन्द्रले राम्रो नतिजा निकाल्न सकेन । चर्च ब्वाइज तथा खुमलटार युथ क्लब ए डिभिजनमा उक्लन सफल भए । नेपाल सुपर लिगमा काठमाडौँ रेजर्स च्याम्पियन बन्यो ।

अन्य खेल
नेपाली महिला भलिबल टोली बंगलादेशमा एसियन सेन्ट्रल जोनको भलिबल उपाधि रक्षा गर्न सफल भयो । भलिबलमा पनि फ्रेन्चाइज आधारमा लिग हुने घोषणा भयो । यसैगरी एसियाकै तेस्रो ठूलो इभेन्ट युटिएम ट्रायल एक सय १० किलोमिटरको रेसमा नेपालकी सुनमाया बुढा आफ्नो  क्याटागोरीमा च्याम्पियन बनिन् । उनले उपाधि जित्ने क्रममा नेपालकै मीरा राईलाई हराइन् । बंगादेशमा भएको बंगवन्धु म्याराथनमा नेपालकी पुष्पा भण्डारीले काँस्य हात पारिन् । 

 विश्व वरीयतामा शीर्ष स्थान हात पार्ने प्रिन्स  

प्रिन्स दाहालले गत वर्ष घरेलु मात्र नभएर विश्व ब्याडमिन्टन महासंघको वरीयतामा समेत तहल्का मच्चाए । प्रिन्स उमेर समूहमा विश्वकै एक नम्बर खेलाडी बन्न सफल पनि भए । कुनै पनि विश्व वरीयतामा शीर्ष स्थान हात पार्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् । उनले घरेलु प्रतियोगितामा आफूलाई अपराजित नै राखे । 
वरीयताकै चर्चा गर्दा गत वर्ष आइसिसीले जारी गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलले स्थान बनाए । उनी अहिले २९औँ स्थानमा छन् । अहिलेसम्म आइसिसीले जारी गरेको व्यक्ति खेलाडीको वरीयतामा कुशलले प्राप्त गरेको स्थान नेपाली खेलाडीमध्ये उच्च हो । सन्दीप लामिछाने तथा अभिनाश बोहेराले पनि वरीयता प्राप्त गरेका छन् । 

 नयाँ कप्तान र व्यस्त क्रिकेट
क्रिकेट गतिविधि गत वर्ष दु्रतगतिमा भयो । खेलाडी वर्षभरि नै व्यस्त भए । घरेलुदेखि अन्तर्राष्ट्रिय खेलमा खेलाडीहरूले एकपछि अर्को गरी भाग लिए । गत वर्ष नै नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान तथा प्रशिक्षकसमेत नियुक्त गर्‍यो । ग्रेडिङको विवाद चल्दा राष्ट्रियस्तरका खेलाडीले त्यसको विरोध गरे । 

क्यानको निर्णयप्रति विद्रोह गर्दा खेलाडीहरू व्यवस्थापनप्रति सन्तुष्ट नभएको स्पष्ट देखियो । क्यानले कारबाहीस्वरूप तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट मुक्त गर्‍यो । ज्ञानेन्द्रको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाए । श्रीलंकाली डेभ वाटमोरले घरायसी कारण देखाउँदै नियुक्ति पाएको एक वर्ष नबित्दै प्रमुख प्रशिक्षकबाट राजीनामा दिए । गत वर्ष नै पारस खड्काले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएन । ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो । 

नेपालले ५०औँ अन्तर्राष्ट्रिय टी–२० खेल पपुवा न्युगिनीविरुद्ध खेल्यो । ग्लोबल छनोट ‘ए’ मा नेपालले खेलेका पाँचमध्ये एउटा मात्र खेलमा हारको सामना ग¥यो । नेपालले गत वर्ष पपुवा न्युगिनीविरुद्ध नौ अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमध्ये ६ एकदिवसीय र तीन टी–२० खेल रह्यो । सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको बाटोका रूपमा रहेको आइसिसी विश्वकप लिग–२ मा नेपाल छैटौँ स्थानमा छ । लिग–२ मा नेपालको प्रदर्शन अहिलेसम्म औसत छ । लिग–२ मा नेपालले १२ खेलमा समान ६ जित र हारबाट १२ अंक बटुलेको छ ।  

नेपालले गत वर्ष १८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । १४ खेलमा जित र चारमा हारको सामना ग¥यो । गत वर्ष नै कुशलले टी–२० डेब्यु सिरिजमै लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्रसिंह एकदिवसीय तथा टी–२० खेलमा शतकीय इनिङ्स खेल्ने पारसपछि दोस्रो खेलाडी बने । उनी अन्तर्राष्ट्रिय टी–२० खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली बनेका छन् । कप्तान सन्दीप र करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे । पुरुषको तुलनामा महिला टोलीले कमै अवसर पाए । नेपाली महिला टोली पहिलोपटक अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार गयो । तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले कतारलाई हरायो । नेपालले युएईमा भएको आइसिसी महिला टी–२० विश्वकप छनोट खेल्यो ।