१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त  
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत २७ आइतबार ०९:२१:००
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

टिकटदेखि मतसम्म किन्नुपर्ने अवस्थाले चुनावकाे खर्च बढायो : भोजराज पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत २७ आइतबार ०९:२१:००

उम्मेदवारका लागि चुनाव खर्चिलो हुनुका पछाडि तीन–चारवटा कारण

उम्मेदवारका लागि चुनाव खर्चिलो हुनुका पछाडि तीन–चारवटा कारण छन् । पहिलो, अहिले आस्थाको राजनीति छैन, स्वार्थकेन्द्रित बनेको छ । आस्थाको राजनीति स्वार्थकेन्द्रित राजनीतिमा बदलिँदै गएपछि राजनीतिक दलका कार्यकर्ता आफ्नो दलको पकडभन्दा बाहिर हुन्छन् नै । त्यसलाई पैसाले प्रतिस्थापित गर्छ । ०४८ को निर्वाचनमा आफ्नै खर्चले चिउरा, दालमोठ, मकै खाएर नेता–कार्यकर्ता परिचालित हुन्थे । तर, अहिले कार्यकर्तालाई उम्मेदवारले पाल्नुपर्ने वा किन्नुपर्ने स्थिति छ । 

दोस्रो, कतिपय उम्मेदवारको भनाइ सुन्दा नेताहरूलाई पैसा नै बुझाएर टिकट किन्नुपर्ने, टिकट दिलाउने मध्यस्थकर्तालाई पनि रिझाउनुपर्ने, कार्यकर्तालाई यताउति ओसारपसार गर्नुपर्ने, चुनाव लडिरहँदा खर्च गरेर मतदाता पनि किन्नुपर्ने अवस्था छ । यसरी हेर्दा टिकटदेखि मतसम्म किन्नुपर्ने अवस्थासमेत छ । 

तेस्रो, राजनीतिक शक्ति राजनीतिमै छ । त्यसकारण राजनीतिभित्र बिस्तारै ‘पावर एक्सरसाइज’ गर्ने उद्देश्यले स्वार्थ समूहरू प्रवेश गरेर दललाई प्रभाव पार्दै स्वार्थ पूर्ति गर्न थाले । दलहरू आदर्शबाट च्युत हुन थाले । आपराधिक तत्व निर्वाचन प्रक्रियामा जान थालेपछि उसले जति पनि खर्च गर्दिने भयो । त्यसले गर्दा ऊसँग  प्रतिस्पर्धा गर्नेहरूको खर्च पनि स्वाभाविक रूपमा बढ्ने भयो । जसले गर्दा निष्ठावान् कार्यकर्ताले मलाई टिकट चाहिँदैन, चुनाव लड्दिनँ, उम्मेदवार बन्दिनँ भन्ने अवस्था आयो र उनीहरूको ठाउँ पैसावालाले लियो । त्यो पनि ‘ह्वाइट मनी’ले होइन, ब्ल्याक मनीवालाले । 

चौथो, राज्यशक्ति पनि राजनीतिमै छ । स्थानीय सरकारमा धेरै स्रोत गएको छ । कम्तीमा एउटा पालिकामा ३० करोड बजेट गएको छ । धेरै जनप्रतिनिधिले जनताकेन्द्रितभन्दा पनि आफूकेन्द्रित, आफन्तकेन्द्रित, स्वार्थ समूहकेन्द्रित भएर पनि काम गर्नुभएको छ । त्यसरी काम गर्दा नै हैसियत बढेको छ । त्यहाँ गएपछि हैसियत बढ्दो रहेछ, त्यसैले जति खर्च गरेर पनि जाने भन्ने प्रतिस्पर्धा बढेको छ ।