सिराहाको विष्णुपुर गाउँपालिकामा प्रशासन शाखाका कर्मचारी र गाउँपालिका अध्यक्षको मिलेमतोमा पालिकाको आन्तिरिक राजश्व हिनामिना गरिएको खुल्न आएको छ । गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला गर्नुपर्ने ३४ लाख भन्दा बढी रकम पालिका प्रशासनका नायब सुब्बा र गाउँपालिका अध्यक्षको मिलेमतोमा हिनामिना भएको खुल्न आएको
हो ।
गाउँपालिका प्रशासन शाखाका नायब सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७–०७८ मा गाउँपालिकाको लेखा शाखामा विभिन्न शीर्षकमा सेवाग्राहीबाट राजश्ववापत संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये ३४ लाख २३ हजार सात सय ९० रुपैयाँ राजश्व खातामा दाखिला नगरी हिनामिना गरेको खुलेको हो । नायससुब्बा यादवले स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयरमार्फत २०७७ साउन १ देखि २०७८ असार ३१ गतेसम्म एक वर्षको अवधिमा संकलन भएको रकम बैंक दाखिला नगरी अन्यत्र चलाएको पाइएको प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले जानकारी दिए ।
पटक–पटक ताकेता गर्दा पनि दाखिला नगरेपछि २५ प्रतिशत जरिवाना
प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला गर्नुपर्ने ३४ लाख २३ हजार सात सय ९० रुपैयाँबारे पटक–पटक ताकेता गरिए पनि नायससुब्बा यादवले बेवास्ता गर्दै आएका छन् । राजश्व रकम खातामा जम्मा नभएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम हिनामिना रकमको २५ प्रतिशतले हुन आउने आठ लाख ५५ हजार नौ सय ४७ रुपैयाँ ५० पैसा जरिबानासहित ४२ लाख ७९ हजार तीन सय ३७ रुपैयाँ ५० पैसा बैंकमा दाखिला गर्न १५ चैतमा पत्र काटिएको छ ।
राजश्वको रकम खातामा जम्मा गर्न ताकेतासहितको पत्र काटेको १० दिन बितिसक्दा पनि खातामा अझै रकम जम्मा नभएको प्रमुख प्रशासकिय अधिकृत यादवले बताए । गाउँपालिकाले सम्पूर्ण आर्थिक कारोबार विष्णुपुरस्थित मेगा बैंकको शाखाबाट गर्दै आएको छ । नासु यादवले राजश्व रकम गाउँपालिकाको आन्तरिक राजश्व खातामा दाखिला नगरी गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भनेअनुसार गर्दा गल्ती भएको स्विकारेका छन् । ‘गाउँपालिका अध्यक्षले मुद्दा–मामिलामा खर्च चाहिएको छ, पछि मिलाउँला भनेपछि विश्वासमा परेर दिँदै गएँ । अहिले म अप्ठ्यारोमा परेँ’ नासु यादवले भने, ‘कानुनी रूपले मेरो गल्ती देखिएकाले चैत मसान्तसम्म गाउँपालिकाको राजश्व खातामा जम्मा गर्छु ।’
फसाउने षड्यन्त्र गरियो : अध्यक्ष यादव
गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भने कर्मचारीले आफूलाई फसाउन खोजेको आरोप लगाए । ‘गाउँपालिकाका कुनै कर्मचारीसँग मैले कुनै रकम लिएको छैन’, उनले भने ‘कर्मचारी आफूले गरेको गल्तीका कारण कानुनी कारबाहीबाट बँच्न मलाई फसाउन खोजेका हुन् ।’ त्यसको विषयमा पत्रकार सम्मेलनमार्फत यथार्थ कुरा सार्वजनिक गर्ने उनले बताए ।
कर्मचारीले राजश्व रकम हिनामिना भएको खुलेपछि गाउँपालिकाका एक वडाध्यक्षले कोष तथा लेखा नियन्त्रण कार्यालय सिराहालाई जानकारी गराएर गउँपालिकाको खाता रोक्का गरिएको थियो । तर, गाउँपालिका अध्यक्ष स्वयं उपस्थित भएर तत्काल रकम जम्मा गर्ने प्रतिबद्धता गरेपछि खाता सुचारु गरिएको बताइएको छ ।