मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दरबार हाइस्कुलका विद्यार्थीलाई बिहीबार टाइफाइडविरुद्ध खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : रासस
मञ्जु टेलर काठमाडाैं
२०७८ चैत २५ शुक्रबार ०६:१०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ चैत २५ शुक्रबार ०६:१०:००

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई २४ दिनभित्र खोप लगाउने सरकारको अभियान

१५ महिनादेखि १५ वर्ष उमेरका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ (टिसिभी) लगाउन सुरु गरिएको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । 

डा. विवेककुमार लाल निर्देशक, परिवार कल्याण महाशाखा
नेपालमा हरेक वर्ष लगभग चार लाख ५० हजारभन्दा बढी टाइफाइडबाट संक्रमित हुन्छन् । तथ्यांक हेर्दा पनि खानेकुराबाट हुने रोगमध्ये टाइफाइड तेस्रो नम्बरमा पर्छ । संसारमा वार्षिक दुई करोडभन्दा बढी टाइफाइडबाट प्रभावित हुने गरेका छन् । जसमध्ये एक लाख ६१ हजारको हाराहारीमा संक्रमणका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।

बिहीबार जमलस्थित दरबार स्कुलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेका हुन् । बिहीबारै दरबार स्कुलका लक्षित बालबालिकालाई खोप लगाइएको छ । शुक्रबारदेखि देशैभर २४ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुँदै छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले अभियानमा बालबालिकालाई सहभागी गराउन आग्रह गरेका छन् । 

देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ । विद्यालयमै खोपकेन्द्र राखिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका एक सय १९ स्थानीय तहमा चार हजारभन्दा बढी विद्यालय नर्स कार्यक्रममा खटिनेछन् । १८ वैशाखसम्म चल्ने अभियानमा बालबालिकालाई एकै चरणमा खोप दिने मन्त्रालयले जनाएको छ । करिब ७४ लाख बालबालिकाले खोप लगाउने आकलन मन्त्रालयको छ । 

‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ ०.५ एमएल मात्रा मासुमा लगाइन्छ । पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट हरेक वर्ष धेरै संक्रमित हुने गरेका छन् । एन्टिबायोटिक औषधिको प्रभाव घट्दै गएको समयमा भ्याक्सिनको आवश्यकता बढ्दै गएको विज्ञहरूले बताउँदै आएका छन् । टाइफाइडविरुद्धको भ्याक्सिन सफल परीक्षणसँगै स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको चिकित्सकहरूको भनाइ छ । परिवार कल्याण महाशाखाका अनुसार संसारमा वार्षिक दुई करोडभन्दा बढी टाइफाइडबाट प्रभावित हुने गरेका छन् । जसमध्ये एक लाख ६१ हजारको हाराहारीमा संक्रमणका कारण मृत्यु हुने गरेको तथ्यांक छ । 

महाशाखाका अनुसार टाइफाइड संक्रमणबाट मृत्यु हुनेको संख्या न्यून भए पनि संक्रमणदर अत्यधिक छ । टाइफाइड संक्रमणका कारण अस्पतालसम्म पुग्ने संख्यासमेत अत्यधिक रहने भएकाले खोप अनिवार्य भएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । ‘नेपालमा हरेक वर्ष लगभग चार लाख ५० हजारभन्दा बढी टाइफाइडबाट संक्रमित हुन्छन् । तथ्यांक हेर्दा पनि खानेकुराबाट हुने रोगमध्ये टाइफाइड तेस्रो नम्बरमा पर्छ,’ उनले भने । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा टाइफाइड संक्रमण सामान्यभन्दा १० गुणा बढी छ । देशभर प्रत्येक एक लाख जनसंख्यामध्ये एक हजार २६ जना टाइफाइडबाट प्रभावित हुने गरेको तथ्यांक छ ।