Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ चैत २४ बिहीबार ०८:२६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कविता सुनुवार हत्या आरोपी सार्वजनिक : रिसइबीका कारण  आफ्नै सहपाठीबाट हत्या 

Read Time : > 1 मिनेट
२०७८ चैत २४ बिहीबार ०८:२६:००

बेलका नगरपालिका–३ की कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता सुनुवारको हत्या आरोपमा प्रहरीले उनकै सहपाठीलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद ढकाल खत्रीलाई सार्वजनिक गरेको हो ।

कविताकै सहपाठी सरस्वती ढकाल खत्रीले दाजु विनोदसँग मिलेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए । ‘कविताले सरितालाई स–सानो कुरामा होच्याउने, चिढ्याउने गरेकाले दाजु विनोदसँग मिलेर हत्याको योजना बनाई हत्या गरेको बयानमा पाइएको छ,’ उनले भने ।

कविताको हत्या आरोपमा प्रहरीले पक्राउ गरेकामा बेलका नगरपालिका–३ की सरिता र भारतको सिक्किम घर भई हाल बेलकास्थित काकाको घरमा बस्दै आएका विनोद छन् । ‘हत्याको योजना बनाई ट्युसन पढ्ने समयमा सँगै जान बोलाएर लगी हत्या गरिएको खुलेको छ,’ बोहोराले भने । कवितालाई पछाडिबाट विनोदले बियरको बोतल प्रहार गरी घाइते बनाएर ढुंगाले हानेर हत्या गरेको बयान दिएको उनको भनाइ छ । कविता र सरिता स्थानीय कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीले जिल्ला अदालत उदयपुरबाट अरोपित प्रतिवादी सरितालाई पाँच दिन र विनोदलाई सात दिन म्याद थपी थप अनुसन्धान अघि बढाएको छ । 

कविताको हत्यापछि त्रासमा विद्यार्थी
कविताको हत्यासँगै विद्यालयमा उनीसँगै पढ्ने अन्य विद्यार्थी त्रसित बनेका छन् । कोसी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले विद्यार्थीहरूमा त्रास पैदा भएकाले समस्या भएको बताए । ‘हामीले बुधबार शोकसभा आयोजना गरेका थियौँ । विद्यार्थीहरूमा डर, त्रास, एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्था आएको छ । विद्यार्थीलाई मनोविमर्श दिन थालेका छौँ,’ उनले भने ।

प्रधानाध्यापक साहले कविता र सरिता अत्यन्तै मिलनसार साथी भए पनि हत्या घटनाले आफूहरू स्तब्ध भएको बताए । विद्यालयमा साथी र शिक्षकहरूमाझ लोकप्रिय कविता पढाइमा अब्बल र अनुशासित थिइन् । असल छात्रालाई गुमाउँदाको पीडा शिक्षक र अभिभावकमा असह्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत बताउँछन् ।