मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत २३ बुधबार १९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुरका ४६ भूमिहीन दलितलाई लालपुर्जा वितरण, प्रचण्डले भने- यो ऐतिहासिक दिन हो

Read Time : > 1 मिनेट
२०७८ चैत २३ बुधबार १९:१२:००

७० वर्षकी गंगादेवी विश्वकर्मालाई लालपुर्जा नदेखी मर्छु कि भन्ने चिन्ता थियो । तीन दशकदेखि भरतपुर महानगरपालिका–२ आँपटारीमा बस्दै आएकी उनी बुड्याैलीले गर्दा राम्रोसँग हिँड्न सक्दिनन् । तर, बुधबार हातमा परेको लालपुर्जा देखाउँदै उनले भनिन्, ‘राम्रै भाग्य लिएर आएको रहेछु, लालपुर्जा पाएँ,’ खुसीको आँसु पुस्दै उनले भनिन् ।

उनी २०४७ देखि आँपटारीमा बस्दै आएकी छिन् । ‘सुकुमबासी हटाउन  विगतमा सेना र प्रहरी आएका थिए । पटक–पटक डोजर पनि ल्याए । हामी संघर्ष गरेरै बस्यौँ,’ उनले स्मरण गरिन् ।

उनीजस्तै आँपटारीका ४६ दलित परिवार लालपुर्जा पाएपछि हर्षित भएका छन् । अन्य सुकुमबासी परिवारमा पनि लालपुर्जा पाइने आशा बढेको छ । ‘पटक–पटक चुनावमा लालपुर्जा बाँढ्ने आश्वासन दिएर भोट हाल्न लगाइयो, जग्गा नाप्न पनि आए, कागजपत्र पनि बनाइयो । यस बीचमा अनेकौँपटक सरकार परिवर्तन भए । अनेकौँ आयोग बने । तर, तर लालपुर्जा पाइएको थिएन,’ सुकमाया परियारले लालपुर्जा देखाउँदै भनिन्, ‘जिन्दगीमा सबैभन्दा धेरै खुसी भएको दिन नै आज हो । यो ठाउँमा बस्न पाइँदैन कि भन्ने डर थियो । तर, अब लालपुर्जा पाएपछि त आफ्नै जमिन भयो ।’

बुधबार भरतपुर महानगरपालिकाद्वारा आयोजित भूमिहीन दलितहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संयुक्त रूपमा भूमिहीन दलित ४६ परिवारलाई लालपुर्जा वितरण गरेका छन् । 
प्रचण्डले लालपुर्जा वितरण गर्दै जनआन्दोलन र जनयुद्धको क्रममा देखेको सपना अगाडि बढेका बताए । ‘जमिनको मालिक किसान र भूमिहीनलाई बनाउन जरुरी छ, जुन संविधानप्रदत्त अधिकार हो,’ उनले भने, ‘नेपालमा भूमिको समस्या समाधान गरेर उत्पादकत्व वृद्धि, व्यवसायीकरण, आधुनिकीकरण गरेर समृद्धि ल्याउनुपर्छ । र, त्यसको काम जमिनबाट सुरु हुन्छ । यो ऐतिहासिक दिन हो ।’

प्रचण्डले संवैधानिक अधिकारअनुसार नै लालपुर्जा वितरण गरिएको बताए । कसैलाई दयामायाले नभई दलित र सुकुमबासी समस्या समाधानबारे भएको संवैधानिक व्यवस्थाअनुसार नै प्रक्रिया अघि बढेको उनले बताए । गठबन्धनको सरकार बनेपछि सुकुमबासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न र उत्पादन वृद्धिका लागि भूमिको सदुपयोग गर्ने काममा बहुआयामिक पहल भएको बताए । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण निर्वाचनको अभियान नभई संविधानको अधिकार दिन देशव्यापी चलेको महाअभियान भएको बताइन् । यो अभियानले भूमिहीनको समस्या सधैँको लागि समाधान गर्ने उनको दाबी छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भूमिहीनलाई लालपुर्जाको सुरुवात भएको बताइन् । ‘अहिले निरन्तर विभिन्न वडामा नापजाँचको काम चलेको छ भने निस्सा वितरण प्रायः ठाउँमा भइसकेको छ ।’ उनले भनिन् । 

दाहालका अनुसार भरतपुरमा लालपुर्जा दिनुपर्नेको तथ्यांक १० हजार ७ सय ७७ छ । जसमध्ये दलित भूमिहीनको सख्या १ हजार ९ सय ८९ हो । जसमध्ये ३ सय ५० जना मात्रै जमिनको भोकचलन गरेर बसोबास गर्छन् । राष्ट्रिय भूमि आयोग चितवनले भरतपुरसहित कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जग्गा नापजाँच गरिरहेको जनाएको छ ।