मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पोखरामा सम्पन्न एसिया ट्रायथलन कपमा सहभागी प्रतियोगी । तस्बिर : नयाँ पत्रिका
२०७८ चैत २० आइतबार ०६:२४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जापानका युचिदा र काजाकिस्तानकी सावालिनालाई उपाधि

Read Time : > 2 मिनेट
२०७८ चैत २० आइतबार ०६:२४:००

एसिया ट्रायथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप सम्पन्न

एसिया ट्रायथलन कपको उपाधि पुरुषतर्फ जापानका गेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले जितेका छन् । पोखरामा शनिबार सम्पन्न ‘एसिया ट्रायथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप’अन्तर्गत युचिदा र सावालिनाले उपाधि हात पारेका हुन् ।

प्रतियोगिताअन्तर्गत एसियासँगै दक्षिण एसियाली र राष्ट्रिय गरी तीन विधामा महिला, पुरुषका खेल भएका थिए । नेपाल ट्रायथलन संघको आयोजना तथा जापानको टिएनटी टिभी र टिभिएस अपाचेको प्रायोजनमा भएको हो ।

प्रतियोगितामा नेपाल, जापान, भारत, अस्ट्रिया, बंगलादेश पोल्यान्ड र काजाकिस्तान गरी सात देशका ४० पुरुष र २३ महिला गरी ६३ जना खेलाडी प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धीहरूले फेवातालमा पौडीसँगै साइक्लिङ र दौड भने गौरीघाटबाट सुरु गरेर सहिदचोक, मुस्ताङचोक, बिरौटाचोक, ड्यामसाइड, राष्ट्र बैंक चोक हुँदै पुनः गौरीघाटमा आएर सम्पन्न गरेका थिए ।

निर्धारित सात सय ५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र पाँच किलोमिटर दौडको निर्धारित दूरी ५३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ युचिदा र एक घन्टा दुई मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै महिलातर्फ सावालिनाले उपाधि जितेकी हुन् ।  पुरुषतर्फको निर्धारित दूरी ५३ मिनेट २२ सेकेन्डमा पूरा गर्दै जापानकै क्योतारो ओसिकावा दोस्रो र ५३ मिनेट ३६ सेकेन्डमा दूरी पार गरेका अस्ट्रियाका लियोन पावगर तेस्रो भए ।

महिलातर्फको प्रतिस्पर्धामा एक घन्टा दुई मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै जापानकी हिराकु फुकुओका दोस्रो र एक घन्टा चार मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै काजाकिस्तानका नाजेन्दा बेकमागन तेस्रो भइन् । उपाधिविजेता खेलाडीहरूले नगद ६ सय ३०, दोस्रो पाँच सय २५ र तेस्रोले चार सय २० डलरसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

भारतका सिनिमोल र महिलातर्फ भारतकै मोहनलाई उपाधि 
प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली ट्रायथलन पुरुषतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र महिलातर्फ भारतकै प्रग्न्या मोहनले उपाधि हात पार्न सफल भएका छन् ।निर्धारित दूरी ५९ मिनेट १० सेकेन्डमा पूरा गर्दै सिनिमोल र एक घन्टा ६ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै मोहनले उपाधि जितेकी हुन् । मोहनले तीन वर्षअघि सम्पन्न प्रतियोगिताको पहिलो संस्कणको उपाधि जित्ने क्रममा एक घन्टा नौ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । 

सोही विधामा पुरुषतर्फ भारतकै राहुल धनजी सिन्धेले ५९ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र विश्वनाथ यादवले ५९ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हात पारे । महिलातर्फ भरातकै मानषी मोइतेले एक घन्टा आठ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र सन्जना जोशीले एक घन्टा १० मिनेट आठ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भइन् ।

सेनाका थारू र महिलातर्फ एपिएफकी गुरुङलाई उपाधि 
यसैगरी, राष्ट्रियतर्फ पुरुषमा नेपाली सेनाका वसन्त थारू र महिलामा एपिएफकी सोनी गुरुङले उपाधि हात पारे । थारूले एक घन्टा तीन मिनेट दुई सेकेन्ड र सोनीले एक घन्टा ११ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरेका थिए । दक्षिण एसियाली ट्रायथलनमा सातपटक सहभागी भएका थारूले दुईपटक स्वर्ण र तीनपटक कास्य पदक जिते पनि यस वर्ष पदक जित्न असफल भए ।

पुरुषतर्फ एक घन्टा पाँच मिनेट ६ सेकेन्डमा दूरी पारेका दिपेश चौधरी दोस्रो र एक घन्टा सात मिनेट ५५ सेकेन्डमा दूरी पूरा गर्दै मुकेश थारू तेस्रो भए । महिलातर्फ केशरी थापामगर एक घन्टा २१ मिनेट दुई सेकेन्ड दूरी पूरा गर्दै दोस्रो र सस्तिका भण्डारी एक घन्टा ३२ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताअन्तर्गत दुआथलनको प्रतिस्पर्धा आइतबार हुने आयोजक संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।