१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
समाचार डिजिटल संस्करण

अख्तियारको छापापछि जगरनाथपुर गाउँपालिकाका प्रशासकीय अधिकृतको सरुवा

Read Time : < 1 मिनेट
२०७८ चैत १९ शनिबार १२:०३:००

पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको सरुवा गरेको हो।

अधिकृत कुशवाहको ठाँउमा नयाँ शाखा अधिकृत कृष्णनन्दन राय आएका छन्। मन्त्रालयले रायलाई चलानी नम्बर ११२२ भएको मिति २०७८ चैत १४ गतेको पत्रमार्फत मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी जगरनाथपुर गाउँपालिकाको कामकाजमा खटाइएको जनाएको छ।

यसअघि कुशवाहालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि पठाए पनि हाल खटाइएको कार्यालयको बारेमा खुल्न सकेको छैन।

तीन दिनअघि जगरनाथपुरमा अख्तियारको छापामारी 
कोरोना प्रभावित विपन्नको अनुदान रकम दुरुपयोग गर्ने पर्साको जगरनाथपुर गाउँपालिका कार्यालय र वीरगन्जस्थित सम्पर्क कार्यालयमा गत मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो । अख्तियार कार्यालय हेटौँडाबाट खटिएको डिएसपी गणेशबहादुर बराल नेतृत्वको टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

मंगलबार नयाँ पत्रिकाले ‘कोरोना प्रभावित विपन्नको अनुदान रकम शिक्षक र स्वास्थ्यकर्मीको तलबदेखि कर्मचारीलाई सापटी दिनेसम्ममा दुरुपयोग’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । गाउँपालिकाले विपन्नलाई राहत बाँडेको रिपोर्ट बनाएर रकम भने शिक्षकलाई तलब र कर्मचारीलाई सापटीमा खर्च गरेको, सर्लाहीको कौडेना गाउँपालिकाले स्वास्थ्यकर्मीलाई तलब खुवाएको, रोल्पा नगरपालिकाले विपन्नलाई रकम वितरण नै नगरी खर्च देखाएको र दाङको लमही नगरपालिकाले कार्यविधि मिचेर तोकेभन्दा कम रकम बाँड्न लागेको थियो । अनुदान दुरुपयोगको समाचार आएपछि अख्तियारले मंगलबार अपराह्न गाउँपालिकाको कार्यालयमा छापा मारेको थियो ।