मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को पार्टी कार्यालयमा भाजपाका अध्यक्ष जेपी नड्डासँग छलफल गर्दै । तस्बिर : रासस
पर्शुराम काफ्ले नयाँदिल्ली
२०७८ चैत १९ शनिबार ०७:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा

Read Time : > 1 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
२०७८ चैत १९ शनिबार ०७:०५:००

विपक्षी दलका नेताहरू भेट्ने कार्यसूची छैन, तर सत्तारूढ भाजपाको मुख्यालय भने ‘प्रोटोकलविपरीत’ पुगे

औपचारिक भ्रमणमा भारत आएका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यतालिकामा विपक्षी दलका नेताहरूलाई भेट्ने कार्यक्रम छैन । तर, नयाँदिल्ली पुगेकै दिन उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयमै पुगेका छन् । प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गरेको विषयलाई दिल्लीमा चासोपूर्वक हेरिएको छ । नेपालमा भने सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ प्रधानमन्त्री भाजपा मुख्यालय पुगेको भनेर आलोचना पनि भइरहेको छ । 

यसअघि औपचारिक भ्रमणमा भारत आउने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा जानु परराष्ट्रको प्रोटोकलअनुसार नभएको बताए ।

‘अहिलेसम्मको परम्परामा यस्तो थिएन । यसलाई परराष्ट्रको प्रोटोकलअनुसार छ भनेर पनि भन्न सकिँदैन । पहिले–पहिले उहाँहरूको सुविधाअनुसार बसेकै ठाउँमा व्यक्तिगत वा सामूहिक भेटघाट गराउँथ्यौँ । आफैँ जाने भन्नेचाहिँ हुँदैन थियो,’ उपाध्यायले भने । भारतका लागि अर्का पूर्वराजदूत लोकराज बरालले पनि औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एउटा खास पार्टीको कार्यालयमा जानु प्रक्रियागत रूपमा नमिलेको बताए । 

प्रधानमन्त्री देउवा अपराह्न नेपाली राजदूतावासको स्वागत समारोहमा सहभागी हुनुअघि भाजपा कार्यालय पुगेका थिए, जहाँ भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतले प्रधानमन्त्री देउवासहित प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष नड्डाबीच मुख्यालयमा बेग्लै छलफल पनि भएको छ, जहाँ दुई पार्टीबीच सम्बन्ध थप सुदृढ बनाउने सहमति भएको छ । नड्डाले कांग्रेससँग भाजपाको पुरानो सम्बन्ध रहेको र देउवा भाजपाका पुराना मित्र रहेको भन्दै प्रशंसा गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले द्विपक्षीय नियमित एजेन्डाभन्दा पनि यसपटकको भारत भ्रमणमा कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेका कारण उनी भाजपा मुख्यालय भ्रमणमा गएको टिप्पणी दिल्लीमा छ । भाजपा विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेका अनुसार नड्डाले देउवालाई भाजपा कार्यालय भ्रमणका लागि निमन्त्रणा दिएका थिए । 

भारतीय सैन्य विश्लेषक एवं सेनाका पूर्वउपरथी अशोक मेहताले नयाँदिल्लीले यसपटक कांग्रेसलाई उच्च प्राथमिकतामा राखेको टिप्पणी गरे । ‘नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका रूपमा र त्यसको नेताका रूपमा प्रधानमन्त्री देउवालाई भारतले स्वागत गर्दै छ । तर, भारतले एमालेको महत्वलाई पनि कम आकलन गर्नुहुँदैन भन्ने मलाई लाग्छ,’ मेहताले भने । 

कांग्रेसका एक नेताले भने देउवाको भाजपा कार्यालय ‘सिक्स ए पण्डित दीनदयाल उपाध्याय मार्ग’ भ्रमण प्रधानमन्त्रीका रूपमा भन्दा पनि कांग्रेस सभापतिका रूपमा भएको टिप्पणी गरे ।