मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ फाल्गुण २८ मंगलबार ०९:१८:००
Read Time : > 2 मिनेट
अर्थ

स्प्रेड दर ४ प्रतिशत  कायम गर्ने समझदारी

अर्थमन्त्रीको चेतावनीपछि बैंकर–व्यवसायीबीच छलफल 

Read Time : > 2 मिनेट
२०७५ फाल्गुण २८ मंगलबार ०९:१८:००

ब्याजदरका विषयमा आरोप–प्रत्यारोपमा उत्रिएका बैंकर र व्यावसायीले संवाद सुरु गरेका छन् । सार्वजनिक रूपमै एक–अर्काप्रति आरोप–प्रत्यारोप गर्दै हिँडेका व्यवसायी र बैंकरहरू ब्याजदरको समस्या सहमतिमै समाधान गर्ने गरी संवाद थालेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसनका प्रतिनिधिबीच सोमबार ब्याजदरको समस्या समाधान गर्नेबारे छलफल भएको छ । महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेश श्रेष्ठ तथा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकल भट्नाकर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह सहभागी भएको छलफलमा ब्याजदरसम्बन्धी समस्या समाधान गर्न एक साताभित्रै ठोस सहमति गर्ने निर्णय गरेको छ । त्यसका लागि व्यवसायी र बैंकरको सहभागितामा एउटा संयुक्त समितिसमेत बनाउने निर्णय गरिएको महासंघ अध्यक्ष राणाले जानकारी दिइन् । 

यसअघि व्यवसायीहरूले बैंकको ब्याजदर उच्च भएको भन्दै घटाउन माग गर्दै आएका थिए । तर, बैंकरले भने प्रणालीमा लगानीयोग्य तरलताको अभावकै कारण ब्याजदर बढी भएको बताउँदै आएका छन् । कतिपय उद्योगी व्यवसायीले ब्याजदरमा हस्तक्षेप गर्न सरकारसँग आग्रहसमेत गर्दै आएका थिए । कतिपय बैंकहरूले निजी क्षेत्रको छाता संठगन महासंघको सदस्यता त्याग्ने सार्वजनिक अभिव्यक्तिसमेत दिन थालेका छन् । ब्याजदरको समस्या समाधानकै विषयमा अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा बैंकर र उद्योगीबीच बाझाबाझ नै भएको थियो ।
 
अर्थमन्त्रीको चेतावनी 
हालै आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा निजी क्षेत्र र बैंकरबीच सहमति हुन नसके सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । उनले उद्योगी व्यवसायी र बैंकरबीचको विवाद सरकारलाई मन नपरेको भन्दै त्यसलाई नसच्याए हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । अर्थमन्त्रीले हस्तक्षेपको चेतावनी दिएपछि बैंकर र व्यवसायीले संवाद थालेका हुन् ।

यस्ता छन् सहमति 
महासंघ र बैंकर एसोसिएसनबीच सोमबार भएको छलफलले ब्याजदरको समस्या सहमतिमा समाधान गर्ने, कर्जाको कागजातमा एकरूपता ल्याउने, कमिसन घटाउने, स्प्रेडदरलाई ४ प्रतिशत कायम गर्नेलगायत विषयमा प्रारम्भिक सहमति गरेको छ । अर्को साता त्यसले पूर्णता पाउने अध्यक्ष राणाले जानकारी दिइन् । ‘आपसी विवाद गर्नेभन्दा पनि मिलेर समस्या समाधान गर्नेमा हामी सहमत भएका छौँ, एउटा संयुक्त किमिटी पनि बन्नेछ,’ उनले भने, ‘सम्भवतः अर्को साता ब्याजदर तथा तरलतासम्बन्धी समस्या समाधानका लागि ठोस सहमति हुनेछ ।’

लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्ने तयारी
अर्थमन्त्री डा. युवराज खतिवडाले ‘घ’वर्गका वित्तीय संस्थालाई ‘ख’ वर्गमा स्तरोन्नति गर्ने पहल भइरहेको बताएका छन् । लघुवित्त संस्थाहरूले पनि ठूला काम तथा कारोबार गरिरहेको भन्दै विकास बैंकमा स्तरोन्नति गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८औँ वार्षिक उत्सवमा बोल्दै अर्थमन्त्री खतिवडाले लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्ने सम्भावनाको खोजी भइरहेको बताएका हुन् । ‘साना किसानको नाम साना भए पनि काम ठूलो गरेको छ, लघुवित्त धेरै र ठूला कारोबार गर्ने पनि छन्,’ उनले भने, ‘हामीले ‘घ’ वर्गका लघुवित्तलाई ‘ख’ वर्गमा स्तरोन्नति गर्ने पहल गरिरहेका छौँ ।’ 

लघुवित्तलाई विकास बैंकमा स्तरोन्नति गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्नुपर्ने हुन्छ । साना किसानले पनि केन्द्रीय बैंकसँग ‘ख’ वर्गको सुविधा माग गर्दै आएको छ । अर्थमन्त्री खतिवडाले स्तरोन्नतिका लागि अहिले प्रारम्भिक चरणको प्रयास भइरहेको जानकारी दिए । ऐन संशोधन गरेर स्तरोन्नति गरिने उनले बताए ।  अर्थमन्त्री डा. खतिवडाले सहकारी र लघुवित्तको ब्याजदर बढी भएको भन्ने आरोप लाग्ने गरेको औँल्याउँदै त्यसको खण्डन हुने गरी काम गर्न सुझाब दिए । उनले न्यायसम्मत किसिमले साधन–स्रोतको परिचालन गर्न आग्रह गर्दै सबैले विश्वास गर्ने वातावरण बनाउन सुझाब दिए । उनले हरेक जिल्लाका सबै स्थानीय तहसम्म पुगेर गरिबी निवारणमा भूमिका खेल्न लघुवित्तहरूलाई आग्रह गरे ।

६ महिनामा २३ करोड खुद नाफा
उक्त अवसमार साना किसानका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले साना किसानको सेवाको दायरा फराकिलो हुँदै गएको जानकारी दिए । उनले साना किसानले चालू आवको ६ महिनामा २३ करोड ९१ लाख खुद नाफा आर्जन गरेको जानकारी दिए । ७८ करोड ६० लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी भएको साना किसानले हालसम्म ७५ अर्ब ३ करोड लगानी गरी ५७ अर्ब ६५ करोड असुली गरेको छ ।