१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ चैत १६ बुधबार १८:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भौतिक पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षणमा ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

Read Time : > 1 मिनेट
२०७८ चैत १६ बुधबार १८:४०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा प्रकृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएकी छिन् । बुधबार काभ्रेको नमोबुद्ध नगरपालिका- ५ स्थित पुनर्निर्मित कालिका मन्दिरको उद्घाटन गर्दै भण्डारीले भनिन्, ‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ ।’

२०७२ को भूकम्पबाट क्षतिग्रस्त कालिका मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । ‘हरियाली प्रवर्धन गर्ने, पानीका मूल बचाउने, जैविक विविधताको रक्षा गर्ने गरे मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौँ,’ उनले भनिन् । 

भूकम्पले भत्काएका सम्पदा अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्नुपर्ने उनले बताइन् । स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका काम सञ्चालन भई जनताका दैनिक आवश्यकताको प्रत्यक्ष सम्बाेधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको भण्डारीको भनाइ छ । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकामा पर्यटन क्षेत्रको विकासका लागि भइरहेको कार्यको सराहना गर्दै भण्डारीले मुलुककै राजधानी काठमाडौं र अझै नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्धमा भित्र्याउन सके मात्रै पनि स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्ने बताइन् । 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले ‘कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान’ भन्ने मूल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वर्धनमा विशेष जोड दिँदै आएको बताए । नमोबुद्ध गुम्बा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास भइरहेको तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरवासीको तर्फबाट अभिनन्दन गरिएको थियो । 

वि.स. १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो । मन्दिर पुनर्निर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्त रूपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।