१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १५ मंगलबार १६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १५ मंगलबार १६:२०:००

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्री/कोटा फ्री सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्युटी फ्री/कोटा फ्री सुविधासम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लिमेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल–चीन सरकारबीचको ग्रेड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको छ।

सरकारले कतारमा मार्च २६ र २७ मा हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको आगामी  चैत १८ देखि २७ सम्मको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

कार्कीका अनुसार सरकारले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पँगेनी र डा. जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ। दुग्ध विकास संस्थाको महाप्रबन्धकमा सञ्जीव झा, राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मी र नापी विभाग उपमहानिर्देशकमा करुणा केसीलाई तोकिएको छ। त्यसैगरी, जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृति दिइएको छ।

यस्तै, चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जनासहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको छ।

लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीका पदहरूमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।