मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
सन्तोष थापा
२०७५ फाल्गुण २८ मंगलबार ०६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिमपातले मरे मुस्ताङमा साढे ११ सय चौपाया 

लोमाङथाङ र थासाङ गाउँपालिकाका कृषकले पालेका भेडा, च्याङ्ग्रा र याक मर्दा दुई करोडभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
सन्तोष थापा
२०७५ फाल्गुण २८ मंगलबार ०६:२८:००

लगातारको हिमपातले उपल्लो मुस्ताङमा  १२ दिनमा ११ सय ३५ पशु चौपाया मरेका छन् ।  लोमाङथाङ र थासाङ गाउँपालिकाका विभिन्न गाउँमा कृषिकले पालेका पशु चौपाया मरेका हुन् । सीमा प्रहरी चौकी लोमाङथाङले दिएको जानकारीअनुसार लोमाङथाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडाच्याङ्ग्रा र २ सय ३९ याक मरेका हुन् । हिमपातबाट स्थानीय ५५ जना कृषक पीडित बनेको प्रहरीले जनाएको छ । त्यस्तै, थासाङ–२ का गोविन्द शेरचनले पालेका ८ चौँरी हिमपहिरोमा परेर मरेका छन् । 

किसानलाई झन्डै दुई करोडबराबरको क्षति भएको प्रहरीको अनुमान छ । थप विवरण संकलनका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरूमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरी चौकी लोमाङथाङले जनाएको छ । लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले हिमपातबाट भएको क्षतिबारे प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिको सक्रियतामा क्षति विवरण संकलन सुरु गरिएको बताए । 

त्यस्तै, हुम्लामा पनि हिमपातसँगै बढेको चिसोले चरन क्षेत्रमै दर्जनौँ भेडाबाख्रा मरेका छन् । सर्केगार्ड गाउँपालिका–२ बिबियामा २० भन्दा बढी भेडाबाख्रा मरेको स्थानीय गोपाल महताराले बताए । चखेली गाउँपालिका–५ गलाङमा पनि २०–२५ भेडाबाख्रा मरेको स्थानीय तिलक तामाङले जानकारी दिए । भेडाबाख्रा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्रलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।