१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ चैत १४ सोमबार १२:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खयरमारा सुक्खा पहिरो : मानवीय नभई भौगर्भिक प्रक्रिया, विस्तृत अनुसन्धान सुरु गर्न विज्ञको सुझाव

Read Time : > 1 मिनेट
२०७८ चैत १४ सोमबार १२:४९:००

गत बुधबार राति बर्दिबास– ११ स्थित खयरमाराको चुरे पहाड भएको स्थल तीनतलेमा चर्को आवाज आएपछि स्थानीयहरू डराए। बम पड्केभन्दा कैयौँ गुणा ठूलो आवाजले उक्त क्षेत्रबाट केही किलोमिटर परसम्मका बासिन्दा डरले रातभरि निदाउन सकेनन्। उनीहरूले बिहान मात्र थाहा पाए– तीनतलेमा सुक्खा पहिलो गएको रहेछ भन्ने।

स्थानीयहरू, वडाध्यक्ष तथा बर्दिबासका नगरप्रमुखलगायतका विभिन्न व्यक्ति उक्त स्थल पुगेर पहिरोको निरीक्षण गरे। पहाडको अधिकांश भाग झरेर पहिरो गएको र पहाडसँगै रहेको खोलाको आधा भाग जमिनभन्दा माथि उठिसकेको थियो। उक्त स्थल हेर्न पुगेका अधिकांशलाई यसबारे जानकारी नरहे पनि सबैले आ–आफ्नै अनुमान लगाए र विभिन्न प्रतिक्रिया व्यक्त गरे।

भूगर्भविद प्रकाशचन्द्र घिमिरे र वातावरणविद् सरोजकुमार घिमिरेले यस क्षेत्रको अवलोकन गरेर केही महत्वपूर्ण प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। वर्तमान अवस्था सामान्य, तर चकित पार्ने खालको भएको भन्दै आगामी दिनमा ठूलो संकट आउन सक्ने बताएका छन्। सामान्यतया यस्तो परिस्थितिमा पहाड टुक्रा हुँदा वा चिरा पर्दा स्लाइड भएर जाने भए पनि यस घटनामा भने पहाडको माथिल्लो बलौटे बनोटहरू पहिरोको रूपमा गएको, तर सोको मुनि रहेको चट्टान चिरा परेर एक–अर्काको विपरीत दिशामा धकेलिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

भूगर्भविद् प्रकाशचन्द्र घिमिरेले यसलाई मानवीय त्रुटिले निम्त्याएको परिस्थितिजस्तो नदेखिएको र विशुद्ध प्राकृतिक भौगर्भिक प्रक्रियावाद भएको बताए। उनले यो अनौठो दृश्य आफूहरले पहिले नदेखेको बताउँदै यसले आगामी केही दिनमै ठूलो संकट निम्त्याउन सक्ने बताए। उनले पहाडको मुनि विभिन्न प्रक्रिया भएको देखिएकाले स्थानीय, प्रदेश र केन्द्र सरकारले विस्तृत अनुसन्धानका लागि उपकरणहरूसहितको विशेषज्ञ टोली तत्काल पठाउनुपर्ने आवश्यकता औँल्याए।

आफूहरू व्यक्तिगततर्फबाट अनुसन्धानका लागि आएकोमा यसको पूर्ण अनुसन्धानका लागि थप मद्दतसहितको उपकरणहरू सम्मिलित टोली नै आवश्यक रहेको भूगर्भविद् घिमिरेले प्रस्ट्याए। यो परिस्थिति सिर्जित हुनुको कारण खोज्नु नितान्त आवश्यक रहेको उनले बताए। आफूहरू सोही ठाउँमा अध्ययन गरिरहेकै वेला पहाड पश्चिमबाट पूर्वतिर ठेलिँदै गएको आफ्नै आँखाले देखेकोमा यो अति नै ठूलो दुर्घटनाको संकेत हुन सक्ने उनको आकलन छ।

यता, वातावरणविद् सरोजकुमार घिमिरे यसले नदी पूर्ण रूपमा थुनिएर अकस्मात् पानी आएका वेला ठूलै क्षति पुर्‍याउन सक्ने बताउँछन्। मानव बस्तीहरू बगाउन सक्ने र अन्य थुप्रै दुर्घटनाहरू हुन सक्ने भएकाले सक्दो चाँडो थप मद्दतसहितको विशेषज्ञ टोलीले अध्ययन गर्न जरुरी रहेको उनले बताए। विभिन्न पारिस्थितिक समस्याका कारण आफूहरूले ल्याएको उपकरणहरू प्रयोग गर्न नसकिएकाले आफूहरूभन्दा माथिल्लो तहका विज्ञहरसँग छलफल गरी छिट्टै कारणको तहसम्म पुग्ने प्रयास गर्ने उनले बताए। उनका अनुसार हाल मानव बस्तीलाई कुनै खतरा नभए पनि पहाड पश्चिमबाट पूर्वतर्फ दुई भाग भएर ठेलिँदै गइरहेको छ। दैनिक उक्त स्थलको बनोटमा फरकपन आइरहेको र यो तत्कालै रोकिने अवस्थामा नरहेको उनले थपे।

सोही ठाउँका वडाध्यक्ष धनबहादुर लामाले समेत आफूले पहिले यस्तो नदेखेको भन्दै मद्दतका लागि थप विशेषज्ञसहितको टोली गुहारेका छन्। बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले तत्कालै डराउनुपर्ने अवस्था नदेखिए पनि यो प्रक्रिया विगत एक महिनादेखि चल्दै गरकोले यसले गम्भीर परिस्थिति सिर्जना गर्न सक्ने बताए। उनले आफूहरूले जाने–बुझेका सबै स्थलहरूमा यसबारे जानकारी गराइरहेको र अनुसन्धानका लागि मद्दतको आग्रह गरिरहेको बताए।