१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : बल अघि बढाउने प्रयासमा मानेभञ्ज्याङका खेलाडी । तस्बिर : नयाँ पत्रिका 
२०७८ चैत १४ सोमबार ०७:१६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दमक गोल्डकप : आर्मी बाहिरियो

गोलरक्षक विकेश कुथुसहित चार खेलाडीको अभाव, डिफेन्स र फिनिसिङ लाइन कमजोर

Read Time : > 2 मिनेट
२०७८ चैत १४ सोमबार ०७:१६:००

त्रिभुवन आर्मी फुटबल क्लब दमक गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार सम्पन्न झापा गोल्डकप च्याम्पियन आर्मी दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग पराजित भएको हो । बुधबारको क्वाटरफाइनल खेलमा आर्मीविरुद्ध ४–० को सहज जित निकाल्दै माने भञ्ज्याङले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई तथा  जेरी पुलामी र विमल कुमारले एक/एक गोल गरे । यसअघि केही हप्ताअघि मात्र सम्पन्न भएको झापा गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग मानेभञ्ज्याङ ३–०ले पराजित भएको थियो । यसपटक बदला लिँदै मानेभञ्ज्याङले आर्मीविरुद्ध फराकिलो जित निकालेको हो । दार्जिलिङले विगतको तुलनामा खेल सुधार गर्दै निकै उत्कृष्ट प्रदर्शन गर्‍यो । उसले आर्मीको कमजोर डिफेन्सलाई सहजै चिर्न सफल भयो ।

खेलको २७ औँ मिनेटमा दार्जिलिङका जेरी पुलामीले पहिलो गोल गरे । साइफ खानको पासमा डिबक्समा रहेका पुलामीले प्रहार बललाई पोस्टको दिशा दिए । पहिलो गोलपछि दार्जिलिङ डिफेन्सलाई दाह्रो बनाउँदै झन् आक्रमक खेल खेल्यो । तर, पहिलो हाफ १–० गोलअन्तरमै सीमित भयो । ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाइदिए । उनको लामो प्रहारले सीधै पोस्टको दिशा पायो ।

दुई गोल खाएपछि दबाबमा रहेको आर्मीविरुद्ध दार्जिलिङले झनै दबाब बढायो । खेलाडीबीचको राम्रो तालमेलको सदुपयोग गर्दै दार्जिलिङले ६४ औँ मिनेटमा अर्को गोल थपेर खेललाई ३–० को स्थितिमा पुर्‍यायो । मानेभञ्ज्याङका विमल कुमारले मैदानको मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा राकेश सिंहले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै ४–० को जित निश्चित गराए ।  मैदानको मध्यभागबाट बल अघि बढाउँदै उनले गोल गरे । खेलमा मनेभञ्ज्याङले केही उत्कृष्ट अवसर सदुपयोग गर्न सकेन । जसका कारण स्कोरलाई अझै बढाउन चुक्यो । खेलको ११ औँ मिनेटमा मानेभञ्ज्याङका जेरीले डिबक्समा गरेको प्रहार आकाशियो । ३२ औँ मिनेटमा आदर्श तामाङले प्रहार गरेको फ्रिकिक विपक्षी गोलरक्षक विश्वास चौधरीले पञ्च गरे ।  

मानेभञ्ज्याङसामु आर्मी निरिह देखियो । २७ औँ मिनेटमै पहिलो गोल खाएपछि आर्मी दबाबमा पर्‍यो । उसको डिफेन्स र फिनिसिङ लाइन दुवै कमजोर थियो । घाइते भएका कारण आर्मीको मुख्य रोजाइका गोलरक्षक विकेश कुथु खेल खेलेनन् । अन्य तीन खेलाडी सुमन अर्याल, गौतम श्रेष्ठ र सन्तोष तामाङ राष्ट्रिय टिममा परेर थाइल्यान्ड छन् । कुथुसहित चार खेलाडीको अभाव आर्मीमा खड्कियो । आर्मीले पहिलो हाफमा खासै ‘मुभ’ बनाउन सकेन । दोस्रो हाफमा बनाएका ‘मुभ’ लाई गोलमा परिणत गर्न सकेन । खेलको १७ औँ मिनेटमा विकास खसवासको लामो प्रहार आकासियो । २६ औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल लाइनबाट गरेको प्रहार विपक्षी गोलरक्षक सन्दीप भट्टराईले नियन्त्रणमा लिए । ६० औँ मिनेटमा नवयुग श्रेष्ठले डिबक्सबाट गरेको प्रहार क्रसबारमाथिबाट गयो ।

दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब र विदेशी टोलीे एमिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

हामी छुट्टीका लागि हैन प्रतियोगिता जित्न आएका हौँ :  रेवान भुटिया, प्रशिक्षक मानेभञ्ज्याङ फुटबल क्लब

झापा गोल्डकपमा टिम बनाउने समय पाएनौँ । दमकका लागि हामी अगाडि नै तयार थियौँ । खेलाडीहरू सिजन सकेर आएका छन् । त्यसकारण हामी बलियो बन्यौँ । हामी कुनै पनि प्रतिस्पर्धाका लागि तयार छौँ । हामी छुट्टिका लागि आएका हैनौँ, खेल जित्न आएका हौँ ।

डिफेन्स लाइन कमजोर भयो : नवीन न्यौपाने, प्रशिक्षक त्रिभुवन आर्मी

सुरुमा गोल खाएपछि पहिलोहाफमा डिफेन्समा अनब्यालेन्स देखियो । बीचमा रणनीति जुन बनायौँ– त्यसमा गोल गर्ने अवसर पनि पाएका थियौँ । तर, सदुपयोग गर्न सकेनौँ । दोस्रो गोल खाएपछि पनि हामीले स्कोर गर्ने चान्स पाएकमा थियौँ । तर, फुटबलमा एक गोल खाएपछि आक्रमक खेल खेल्छौँ । त्यसमा काउन्टर मुभ पाएर दार्जिलिङले स्कोर निकाल्यो । गोलरक्षक विकेश कुथु घाइते भएर खेल्न सकेन । अन्य तीन जना राष्ट्रिय टिममा परेका छन् । त्यसले गर्दा झापा गोल्डकपको जस्तो दिन सकनेनौँ । चार खेलाडीको अभाव नदेखिनुपर्ने हो । तर, उनीहरूको अभाव देखियो । खेलाडीले कोसिस गरेका हुन् । तर, सकिएन । डिफेन्स लाइन कमजोर भयो ।