निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
अर्जुन परियार
२०७८ चैत ११ शुक्रबार ०९:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जिल्ला अदालत तोडफोड प्रकरण : लागुऔषध पाइने आसमा ताला फोडेर राति अदालत प्रवेश 

Read Time : > 1 मिनेट
२०७८ चैत ११ शुक्रबार ०९:२१:००

कास्की जिल्ला अदालत प्रवेश गरी तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार छन् । कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी आरोपित परियारलाई सार्वजनिक गरेको छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बुधबार राति करिब १० बजेको हाराहारीमा परियार अदालतभित्र प्रवेश गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । परियारले १ नम्बर र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडी भित्र रहेका टेबुल, इन्डेक्स फाइलहरू, टेबुलको तल रहेको घर्रा फोडी खोली कागजातहरू यत्रतत्र छरेको तिवारीले जानकारी दिए । उनका अनुसार अदालत परिसरभित्रको गल्लीमा ११० इन्च लम्बाइ भएको बांगिएको अवस्थामा रहेको फलामको रडसमेत बरामद गरिएको छ । 

यसअघि विभिन्न समयमा गरी आठपटक आपराधिक कार्यमा संलग्न परियार लागुऔषध पाउने उद्देश्यसहित अदालत प्रवेश गरेको खुलेको छ । प्रहरीले बरामद गरेको लागुऔषध फिर्के खोलामा जलाउने गरिन्छ । लागुऔषध प्रयोगकर्तासमेत रहेका परियार जलाउने स्थानमा लागुऔषध पाइने र अदालतभित्र समेत लागुऔषध पाइने सोचका साथ त्यहाँ प्रवेश गरेको तिवारीको भनाइ छ ।

परियार यसअघि कास्कीमा ६ जेठ ०७३ मा अभद्र व्यवहार, १५ भदौमा अभद्र व्यवहार, ३ असोजमा चोरी, २१ कात्तिक ०७४ मा लागुऔषध, १७ माघमा रुपन्देहीमा अभद्र व्यवहार, २५ असार ०७५ मा कास्कीमा लागुऔषध, २ मंसिर ०७६ मा अभद्र व्यवहार र ९ चैत ०७६ मा लागुऔषध कसुरमा कारागार चलान भएका थिए । उनी १७ दिनअघि २३ फागुनमा थुनामुक्त भएका थिए ।

सरकारी, सार्वजनिक वा निजीमा मूलढोका फोरी वा मूलढोकाबाहेक अन्य कुनै बाटो स्थान वा तरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरिसकेपछि मूलढोका फोरी वा मूलढोकाबाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट बाहिर निस्केमा वा निस्कने उद्योग गरेमा चोरी गरेको मानिने भएकाले परियारलाई चोरी उद्योगमा परियारमाथि अनुसन्धान कार्य सुरु गरिएको तिवारीले जानकारी दिए ।