मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७८ चैत १० बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सडनडेथबाट मच्छिन्द्र  सेमिफाइनलमा प्रवेश

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ चैत १० बिहीबार ०६:५१:००

मच्छिन्द्र फुटबल क्लब सडनडेथमा ६–५ ले विजयी हुँदै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति मैदानमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रले पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई स्तब्ध पार्दै अन्तिम चारको स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो टाइबे्रकरबाट भएको हो । 

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो । सडनडेथमा क्यामरुनका एस बोरिसको प्रहार क्रसबारमा लागेर फर्किएपछि मच्छिन्द्र ६–५ गोल अन्तरले विजयी भयो । सडनडेथको पहिलो प्रहार मच्छिन्द्रका देबेन्द्र तामाङले  गरेका थिए । उनले कुनै गल्ती नगरी सहजै गोल गरे । पहिलो हाफमा मच्छिन्द्रले आक्रामक रणनीति अपनाए पनि फिनिसिङ कमजोर बनाएको थियो । खेलको १९औँ र ५०औँ मिनेटमा मच्छिन्द्रका नुरलन नुरुजोभले डिबक्सबाट प्रहार गरेको बल पोस्टनजिक हुँदै बाहिरियो ।

मोफसलको गोल्डकपमा मच्छिन्द्र र क्यामरुनबीच पहिलोपटक प्रतिस्पर्धा भएको हो । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । मच्छिन्द्रले फाइनल प्रवेशका लागि सुदूरपश्चिम–११ धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रले बाई पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एभिनियर क्यामरुनले प्रिक्वार्टरफाइनलमा एपिएफ क्लबलाई पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो सोमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब बागमती र साबिक विजेता पिप्ले युवा क्लब हेटौँडाबीच खेल हुनेछ । क्वार्टरफाइनलमा  पिप्लेले हिमालयन शेर्पालाई हराएको थियो । आयोजक बागमती पनि बाई पाएर क्वार्टरफाइनलमा न्युरोड टिमलाई स्तब्ध पारेको थियो । 

फिनिसिङ नहुँदा पेनाल्टीमा जानुपर्‍यो
प्रवेश कटुवाल, प्रशिक्षक, मच्छिन्द्र 

प्रतिस्पर्धामा राम्रो फिनिसिङ नहुँदा खेलको छिनोफानो टाइब्रेकरमा पुगेको मच्छिन्द्रका प्रशिक्षक कटुवालले प्रतिकृया दिएका छन् । ‘यो मैदानमा हाम्रो पहिलो खेल हो, क्मारुनले एक खेल खेलेर हामीविरुद्ध प्रतिस्पर्धा गरेको हो,’ कटवालले भने, ‘खेल अवधिभर हामीले दबाब बनाएका थियौँ, केवल गोल मात्र भएन ।’ पेनाल्टीमा कुनै गल्ती नगरेका कारण विपक्षीलाई पराजित गर्न सकेको उनको भनाइ छ । ‘शारीरिक रूपमा क्यामरुनका खेलाडी बलिया थिए,  फिनिसिङमा सुधार गर्नुपर्ने देखिन्छ,’ कटवालले भने । 

परिणाम दुर्भाग्य हो 
आशिक थापामगर, प्रशिक्षक, क्यामरुन

पेनाल्टीमा दुवै टोलीको जित प्रतिशत आधा–आधा भएको क्यामरुनका नेपाली प्रशिक्षक थापामगरले बताएका छन् । ‘पेनाल्टी आधा–आधा अवसर हुन्छ, यसमा जसले मिस गर्छ, प्रतियोगिताबाट बाहिरिन्छ,’ थापाले भने, ‘खेलाडीले राम्रो खेले पनि गोल गर्न सकेनन्, खेल पेनाल्टीमा गयो ।’ थापाले मच्छिन्द्रविरुद्धको खेललाई अभागीको संज्ञा दिएका छन् । ‘हामीहरू आज अभागी भयौँ, जसका कारण खेलको नतिजा अरूतिर नै गयो,’ उनले भने, ‘खेलको प्र्राविधिक वा खेलाडीको प्रदर्शन निकै राम्रो थियो ।’