मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ९ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना महामारीले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर पुर्‍याएकाे छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ९ बुधबार १६:२८:००

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् । बुधबार काठमाडौंको चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले  अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भए मात्र नेपाललगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखे । 

‘कोभिड– १९ महामारीले हामी सबैलाई पिरोलेको छ । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । पर्यटन उद्योग गम्भीर रूपमा अवरुद्ध भएको छ । अब नेपालसहितका हिमाली देशहरूले गुमेको अर्थतन्त्र पुनः पाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ । अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ । हिउँ पग्लिनु, ग्लेसियर पछाडि हट्नु, खडेरी बढ्नु, अनिश्चित वर्षा, बाढी पहिरो आदिले समेत सावधानीको संकेत गरिरहेका छन् ।’

प्रधानमन्त्री देउवाले पर्वतीय स्राेतहरूको संरक्षण गर्न अत्यावश्यक रहेको बताए । उनले नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न लागेको बताए । उनले अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्न विश्वव्यापी तापमान वृद्धि रोक्नुपर्ने बताउँदै त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको धारणा राखे । उनले पर्वतीय मुद्दाहरूलाई समाधान गर्न पहाडी देशहरूबीच छलफल हुन आवश्यक रहेको बताए । 

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुईदिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सयजनाको सहभागिता छ ।