मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
खाँदबारी–४, छयाङकुटी डाँडा । पुखुवा पावरहाउस जाने मुख्य सडक । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७८ चैत ९ बुधबार ०८:२१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अरुण तेस्रो पीडितद्वारा छयाङकुटी–पुखुवा सडक अनिश्चितकालीन बन्द

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ चैत ९ बुधबार ०८:२१:००

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितहरूले मुआब्जा माग गर्दै छयाङकुटी–पुखुवा सडकखण्ड बन्द गरेका छन् । मंगलबार अरुण तेस्रोको पावरहाउस पुखुवा जाने उत्तरकोसी ल्हासा राजमार्गको खाँदबारी–४ स्थित छयाङकुटी डाँडादेखि पावारहाउस गृह पुखुवा जाने स्थानीय पीडितहरूले बन्द गरेका हुन् । उनीहरूले ‘राष्ट्रिय गौरवको आयोजनाले सुकुमवासी बनाउन पाइँदैन, सरकार कहाँ छौ, हामी पालमुनि छाैँ ’लगायतका नारा लेखेर मुख्य सडक नै बन्द गरेका छन् । 

छयाङकुटी–दिदिङ सडकखण्डमा चार सय घरधुरीको पाँच सय २४ रोपनी घरजग्गा, टहरालगायतको मुआब्जा तथा क्षतिपूर्ति नपाएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित समितिका संयोजक जनीकुमार राईले बताए । ०६६ सालमा विनाजानकारी ०४४/४५ सालमा लगत कट्टा गरिएको १५ मिटरभन्दा बढी जग्गा लगत कट्टा गरिएकाले सो जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरूको माग छ । तर, लगानी बोर्ड मुआब्जाका विषयमा संवेदनशील नभएको संयोजक राईको भनाइ छ । 

अरुण तेस्रो आयोजनाबाट छयाङकुटी डाँडादेखि पुखुवा पावरहाउससम्म साढे २४ किमि सडकका स्थानीय प्रभावित छन् । गत ५ माघमा पनि पीडितहरूले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक अवरुद्ध गरेका थिए । त्यतिवेला लगानी बोर्डका उपसचिवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय खाँदबारीमा बसेको संयुक्त बैठकले १५ दिनभित्र मुआब्जा दिन पहल गर्ने र मन्त्रिपरिषद्द्वारा पास गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको थियो । पटक–पटक छलफल हुने, मुआब्जाको विषय टुंगो लागिहाल्छ भनेर आश्वासन दिने गरेको पीडितहरूको गुनासो छ । 

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । भारतीय सतलज एसजेबिएन कम्पनीले निर्माण गरिरहेको छ । मकालु गाउँपालिका–५, फ्याक्सिन्दामा बाँधस्थलको काम भइरहेको छ भने चिचिला गाउँपालिका–२, दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ । सन् २०२३ भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताइएको छ ।