१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ चैत ८ मंगलबार १८:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेटाङ घटना : मंगलबार पनि कर्फ्यु जारी, अराजक समूहले घटना घटाएको सर्वदलीय बैठकको निष्कर्ष

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ चैत ८ मंगलबार १८:१३:००

शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा विवादपछि भएको झडपमा आइतबार साँझ एक प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यु जारी छ। आरोपित शिक्षकलाई जोगाउने वा प्रहरीको जिम्मा लगाउने भन्ने विषयमा भएको उक्त झडपका क्रममा गोली लागेर अर्का एक युवक सिकिस्त घाइते भएका छन्।

घटनापछि ७ चैत बिहान ७ बजेबाट लेटाङ नगरपालिकाको ५ नम्बर वडा र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु मोरङ प्रशासनले थप हिंसात्मक घटना हुन नदिन मंगलबार पनि जारी राखेको हो। सोमबार झैँ मंगलबार पनि कर्फ्युका कारण लेटाङ नगरपालिका सुनसान रह्यो। प्रहरीले कर्फ्यु केही खुकुलो बनाएकाले आज यहाँ सर्वदलीय बैठक बस्यो। सर्वदलीय बैठकको आग्रहअनुसार बुधबार बिहान १० देखि साँझ ४ बजेसम्म कर्फ्यु खुकुलो गर्ने र क्रमशः खुलाउँदै जाने मोरङका सिडिओ काशीराज दाहालले बताए।

अराजक समूहका कारण घटना घटेको सर्वदलीय बैठकको निष्कर्ष
आइतबार साँझ भएको उक्त हिसात्मक घटनाबारे मंगलबार लेटाङमा सर्वदलीय बैठक बसेको छ। प्रहरी जनशक्ति कम हुँदा र यातायातको साधन नहुँदा अराजक समूहले हिंसात्मक घटना घटाउने मौका पाएको सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ। लेटाङमा बढ्दै गएको अराजकता नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय लेटाङ र आसपासका चौकीहरूमा प्रहरी जनशक्ति बढाउने तथा यातायातका साधन थप गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ।

यसैगरी, तोडफोडबाट विद्यालयमा भएको लाखौँको क्षतिको क्षतिपूर्ति दिलाउन र मर्मतसम्भार गराउन माथिल्लो निकायमा आग्रह गर्ने, घटनाका दोषीलाई कार्बाही गर्न सहयोग गर्ने र १२ फागुनमा बलात्कारपछि हत्या गरिएकी लेटाङ ८ की १२ वर्षीया बालिका करुणा राईको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने पनि  निर्णय गरेको छ।

‘घटना कसैको योजनामा नभएर अराजक समूहबाटै भएको हो भन्ने सर्वदलीय बैठकको निष्कर्ष रह्रो,’ माओवादी केन्द्र लेटाङका इन्चार्ज कृष्ण लम्साल अनन्तले भने।

मृतक प्रहरी परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि गृहमा पत्राचार
घटनाका क्रममा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई क्षतिपूर्ति दिलाउन र गोली लागेर घाइते भएका लेटाङ–८ जातेका २० वर्षीय मिलन खड्काको उपचारमा सहयोग गर्न गृह मन्त्रालयमा मोरङ प्रशासनले पत्राचार गरेको छ। विवादको स्थिति नियन्त्रणमा लिन सहयोगका लागि विराटनगरस्थित सशस्त्र प्रहरीको गणबाट लेटाङ पुगेकी उर्मिलाको धारिलो हतियारले लाग्दा मृत्यु भएको थियो। उनी तीन वर्षदेखि प्रहरी सेवा गर्दै आइरहेकी थिइन्।

होलीको दिन लेटाङ–५ स्थित शिक्षा विकास माविका शिक्षक ५६ वर्षीय मनोज पौडेलले विद्यालयकै १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि विवाद भएको थियो। आरोपित शिक्षकलाई नियन्त्रणमा लिने विषयमा भिड अनियन्त्रित हुँदा विद्यालयमा आगजानी र तोडफोड भएको थियो। सोही घटनामा सशस्त्र प्रहरी गण प्रदेश १ कार्यालयमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको अराजक समूहले धारिलो हतियार प्रहारबाट हत्या गरेका थिए।

सो घटनामा २८ प्रहरीसहित केही युवाहरू घाइते भएका थिए। घाइते प्रहरीमध्ये एकजनाको घाँटीमा चोट लागेकाले कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेका बाँकी प्रहरीहरू कोही गणमा र कोही आफ्नो घरमै उपचार गराइरहेका छन्। मोरङ प्रहरीले आठ शंकास्पद युवाहरूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको एसपी ज्ञानेन्द्र जिसीले बताए।